
केन्द्रमा सत्ता समीकरण फेरिएर नयाँ सरकार बनको एक महिना बढी भइसक्यो । तर, प्रदेशमा भने कतै सरकार फेरिएका छन्, कतै फेरबदलको कसरत भइरहेको छ ।
कोशीमा एमाले र माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै विशेष महाधिवेशनको माग गरेका छन् । तर, नेकपा एकीकृत समाजवादीले भने सरकार छोडेको छैन । एकीकृत समाजवादी केदार कार्की नेतृत्वकै सरकारमै सहभागी छ । एकीकृत समाजवादीका कमल प्रसाद जबेगु भौतिक पूर्वाधार विकास मन्त्री छन् ।
सरकार छोड्ने विषयका कुनै निर्णय नभएको संसदीय दलका नेता राजेन्द्र राईले बताए । सरकार बनाउने र गिराउने खेल अहिले एकीकृत समाजवादीका लागि ठूलो कुरा नभएको राईले बताए । ‘हामी पार्टीको महाधिवेशनमा जुटिरहेका छौं,’ उनले भने, ‘अहिले हामी प्रदेशमा भएका गतिविधिलाई सामान्य रूपमा हेरिरहेका छौं ।’
अहिले दुई दलले गरेको अभ्यासले सरकारलाई कुनै असर नगर्ने उनको तर्क छ । 'कुनै एउटा प्रतियोगिता हुँदै छ । दुई जना प्रतियोगी छन् । बाटोमै भेटर कुस्ताकुस्ती गर्दै एउटाले जित्यो भन्दैमा त्यसले गोल्ड मेडल पाउँदैन । सरकार अल्पमतमा पर्ने भनेको त संसद्बाट सिद्ध हुनुपर्छ । कि अविश्वासको प्रस्तावबाट सिद्ध हुनु पर्यो वा विश्वासको मत नपाउनु पर्यो’ उनले भने ।
विवाहमा बहुमत सांसदले हस्ताक्षर गरेर प्रदेश प्रमुखले पनि आह्वान नगरेको बेला दाबी गर्दै जानुले मान्यता नपाउने राईको तर्क छ । प्रदेश प्रमुखले आह्वान गरेपछि मात्रै बहुमत सांसदले हस्ताक्षर लिएर जानु पर्ने उनको भनाइ छ ।
अहिलेको अवस्थामा अदालतमै पुग्नु पर्ने अवस्था सिर्जना भएको उनले बताए । विशेष अधिवेशनमा सरकार अल्पमत परेको विषय टेबुल हुने आधार नै नरहेको उनको तर्क छ । अहिलेको गतिविधि भनेको रेकर्डका लागि मात्रै भएको उनले बताए ।
‘राजनीतिक रूपमा राष्ट्रपतिले संविधान मिचेर निर्णय गरेजस्तै पनि प्रदेश प्रमुखले संविधान मिच्नु भयो भने बेग्लै कुरा नत्र अल्पमतमा परेको भनेर भन्न मिल्दैन,’ राईले भने ‘यद्यपि म सरकार टिकाउने पक्षमा छैन ।’ माथिको गठबन्धनका आधारमा पनि सरकार टिकाउनु पर्छ भन्ने पक्षमा नरहेको उनले बताए ।