
नेकपा (एमाले)का सांसद सूर्य थापाले सहकारीको बचत अपचलन ठगीको विषय भएपनि नेपाली कांग्रेसको नियत सत्ता गठबन्धनमा भ्वाङ पार्ने देखिएको बताएका छन् । रवि लामिछाने प्रतिपक्षबाट सत्तामा आएका कारण कांग्रेसले प्रहार गरिरहेको उनले दाबी गरे ।
बुधवार बसेको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा एमाले सांसद थापाले सहकारीका वचतकर्ता नठगिने सुनिश्चितताका लागि संसद्ले सरकारलाई निर्देशन दिनुपर्ने बताएका हुन् । ‘सहकारीका वचतकर्ताको रकम अपचलन ठगीको विषय हो, एकजना पनि ठगिन हुन्न । नठगिने कुराको सुनिश्चितता संसद्ले सरकारका निकायलाई निर्देशन दिएर गर्नुपर्छ, यो ल्याकत संसद्ले राख्नु पर्छ,’ उनले भने ।
सहकारी गठीको आरोप लागेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिनको माग राखेर कांग्रेसले गठबन्धनमा भ्वाङ पार्न खोजेको उनले आरोप लगाए । ‘सहकारीको सन्दर्भमा गरेको अनन्त रोदन सत्ता गठबन्धनमा भ्वाङ पार्ने उदेश्यका साथ गरिएको हो । रवि लामिछाने या कोही व्यक्ति प्रतिपक्षबाट सत्ता पक्षमा आएका कारण गरिएको व्यक्ति केन्द्रित प्रहारको औचित्य छैन,’ थापाले भने ।
यसअघि प्रमुख प्रतिपक्षी दल कांग्रेसका सांसदहरूले सहकारी ठगीबारे बोल्न सत्तापक्षका सांसदलाई चुनौती दिएका थिए । सहकारी ठगीमा मुछिएका लामिछानेमाथि संसदीय छानबिनको माग गर्दै कांग्रेसले वैशाख ६ देखि संसद्मा यो कुरा उठाइरहेको छ ।
यसैबीच, कांग्रेसको अवरोधका कारण प्रतिनिधिसभा बैठक आगामी २०८१ वैशाख २ गतेसम्मका लागि स्थगित भएको छ ।