
राष्ट्रपति रामचन्द्र पौडेलले खेलकुदका माध्यमबाट देशलाई विश्वमाझ चिनाउन स्थानीयस्तरबाट नै खेलाडी तयार गर्न राज्यले विशेष ध्यान दिन जरुरी रहेको बताएका छन् ।
राष्ट्रपति पौडेलले दशरथ रंगशालामा आयोजित १४ औं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको मङ्गलबार उदघाटन गर्दै गाउँ गाउँमा विकासका विभिन्न पूर्वाधार निर्माण गरेजस्तै खेलकुदका लागि आवश्यक स्रोत साधन, दक्ष प्रशिक्षक र पूर्वाधार निर्माणमा राज्यले जोड दिनुपर्ने धारणा व्यक्त गरे । देशको खेलकुदको एउटा मुख्य आधारकारुपमा यो प्रतियोगिता अगाडि बढ्दै जानु सन्तोषको विषय रहेको उनको भनाइ थियो ।
‘शिक्षा र खेलकुद एक सिक्काका दुई पाटा हुन्, कक्षाकोठाको शिक्षाले विद्यार्थीको आँखा र मस्तिष्क खुलाउँछ भने खेलकुदले मस्तिष्क, हातखुट्टा र मनलाई क्रियाशील तथा अनुशासित बनाउँछ’, राष्ट्रपति पौडेलले भने,“ अतिरिक्त क्रियाकलाप र खेलकुद शिक्षालाई पूर्ण बनाउने आधार हुन्, साथै विद्यार्थीमा अभिवृत्ति, सिप, ज्ञान, सामाजिक मूल्यको आर्जन र कार्य तत्परता विकास गर्ने खुला मैदान हुन् भन्ने मलाई लाग्छ ।”
उनले पुस्तक र विद्यालयको सीमाको सिकाइले मात्र आजका विद्यार्थीलाई पूर्ण बनाउन सक्दैन भन्दै यसका लागि परिवार, समाज र परिवेश समावेश हुने, सृजनात्मक सिकाई र गरिखाने पुस्तकविहीन शिक्षाको पनि जरुरत पर्ने बताए ।
विद्यार्थीको खेलकुदमा संलग्नता समृद्धि, सफलता र समाज निर्माणको आधार हो भन्दै उनले विद्यार्थीहरू खेलकुदमा निरन्तर अग्रसर हुँदा उनीहरूमा नयाँ विचार र नवप्रवर्तन क्षमता पनि विकास हुनेमात्र होइन यसले उनीहरूलाई भविष्यमा जीवनयापनका लागि सक्षम बनाई मुलुकको प्रगतिमा पनि सहयोग पु¥याउन मद्दत गर्दछ भन्ने विश्वास व्यक्त गरे ।