
भारतको नयाँ दिल्लीबाट काठमाडौं आएको इन्डिगो एयरको जहाजको सिटमा बेवारिसे अवस्थामा एक किलोभन्दा बढी सुन फेला परेको छ ।
बुधवार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणपछि पार्किङ भएको जहाजमा १ किलो ७० ग्राम सुन फेला परेको हो । त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयका प्रमुख एसएसपी कृष्णहरि शर्माका अनुसार बेवारिसे अवस्थामा भेटिएको सुन ल्याउने व्यक्तिबारे थप अनुसन्धान भइरहेको छ ।
एयरको सिट नम्बर २७ पछाडि सिट पाकेटको तलपट्टि कालो र सेतो रङको टेपले बेरिएको अवस्थामा सो सुन फेला परेको जानकारी शर्माले दिए ।
वे नम्बर ५ मा पार्किङ भएको जहाजको सिटमा विमानकै कर्मचारीहरूले सुन फेला परेको बताइएको छ ।
प्रहरीका अनुसार सुनको बिस्कुट ६ थान, सिक्री ३ थान, त्रिभुज आकारको सुनजस्तो देखिने पहेँलो रङका धातुका टुक्रा २ थान र सिक्री जोड्ने स–साना रिङ थान–२ फेला परेको हो ।