
ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले विसं २०७२ को भूकम्पले भत्किएका एक सय ५० पाटी पौवा पुनःनिर्माण गरिएको जानकारी दिएका छन् ।
विश्वसम्पदा दिवसको अवसरमा आज उनले ललितपुरको सम्पत्ति नै सम्पदा भएको बताए । यसको संरक्षणका लागि महानगर सधैँ सक्रिय रहेको र वर्षौदेखि रोकिएका प्राचीन जात्रालाई निरन्तरता दिन थालिएको उनले दाबी गरे। विश्वसम्पदा जोगाउन ललितपुर महानगरपालिकाले शून्य सहनशीलताको सिद्धान्त अपनाउँदै आएको बताए ।
विश्वसम्पदा दिवसकै सन्र्दभमा पाटनमा कलाकार मनिषलाल श्रेष्ठले बनाएको एक हजार तीन सय ३६ मिटर लामो धागोका प्रतिस्थापन कला प्रदर्शनी गरिएको थियो । उक्त रङ्गीन धागो महानगर प्रमुख चिरीबाबु महर्जनले शरीरमा बेरेर दिवस उद्घाटन गरेका थिए ।
मेयर महर्जनले उद्घाटन गरेपछि उपस्थित अरु सबैले शरीरमा धागो बेर्दै पाटन दरबार परिसरका सम्पदा घेरेका थिए ।