
बजेटको पूर्वसन्ध्यामा सरकारले अर्थ मन्त्रालयको सचिवको जिम्मेवारीबाट कृष्णहरि पुष्करलाई हटाएको छ ।
सोमवार बसेको मन्त्रिपरिषद् बैठकले अर्थमा सचिवका रूपमा मधु मरासिनीलाई ल्याउने निर्णय गरेपछि पुष्कर अर्थबाट प्रधानमन्त्री कार्यालयमा तानिएका हुन् ।
पेमेन्ट गेटवे प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत असोज १५ गते मरासिनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेपछि निलम्बनमा परेका थिए ।
अदालतबाट सफाइ पाउनासाथ मरासिनीलाई पुष्करको जिम्मेवारी खोसेर अर्थमा सचिवको रूपमा जिम्मेवारी दिएको हो ।
पुष्करले ०८० भदौ ३१ गते दोस्रो पटक अर्थ सचिवका रूपमा जिम्मेवारी लिएका थिए ।
पुष्करको कार्यकाल विवादरहित भने थिएन । उनीमाथि अर्थतन्त्रको ज्ञान नभएको, सरुवाबढुवामा विशेष चासो राख्ने र विदेश भ्रमण मोह रहेको आरोप लाग्दै आएको थियो ।
सरकारलाई यही जेठ १५ गते बजेट पास गर्नुपर्ने संवैधानिक बाध्यता छ । यतिबेला अर्थमन्त्रालयमा धमाधम बजेट निर्माणको काम भइरहेको छ ।