२८ जेठ २०८३, बिहीबार
नेकपाको हीरक महोत्सव

गोदावरीको दृश्य : देउवा–ओलीको नरम सम्बोधन, एमाले रिझाउने प्रचण्ड प्रयास

बैशाख १०, २०८१
काठमाडौं
गोदावरीको दृश्य : देउवा–ओलीको नरम सम्बोधन, एमाले रिझाउने प्रचण्ड प्रयास

नेकपा एमालेले नेपाल कम्युनिष्ट पार्टी स्थापना भएको ७५ वर्ष पुगेको अवसरमा ललितपुरको गोदावरीमा सोमबार मनाएको हीरक महोत्सवमा भावी सहकार्यसम्मको सम्भावनाबारे प्रमुख दलका शीर्ष नेताहरूले अर्थपूर्ण टिप्पणी गरेका छन् । 

पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘गणतन्त्र गौरव सम्मान’बाट संयुक्तरूपमा सम्मानित गरेपछि उनै प्रमुख अतिथिलाई साक्षी राखेर शीर्ष नेताहरूले अर्थपूर्ण टिप्पणी गरेका हुन् ।

मुख्य वक्ताको रूपमा सबैभन्दा पहिले बोलेका कांग्रेस सभापति शेरबहादुर देउवाले फेरि सहकार्यको प्रस्ताव गरे । 

लगत्तै बोलेका प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डमा गहिरो झस्का पसेको उनको अभिव्यक्तिमा झल्किन्थ्यो ।

प्रचण्डले २१ फागुनमा फेरिएको सत्ता समीकरणका निर्णायक एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति विश्वास रहेको कुरा पटक–पटक दोहोर्‍याउँदै रिझाउने प्रयास गरे । 

ओलीले भने वामपन्थीको मात्रै एकतालाई खारेज गर्दै फेरि पनि प्रमुख दलबीच सहकार्य हुने बताए । ओली र देउवाको एक अर्काप्रतिको नरम सम्बोधनले पछिल्लो समय बहस हुँदै आएको ‘कांग्रेस–एमाले मिल्नुपर्छ’ भन्ने भाष्य कार्यान्वयनतिर जाने देखिएको छ ।

देउवाले सँगै जस्तो स्थापना भएका कांग्रेस र एमाले मिलेर मात्रै नेपालका हरेक राजनीतिक परिवर्तन सम्भव भएको त बताए नै फेरि सहकार्यको पनि प्रस्ताव गरे । 

‘नेपाली कांग्रेस र नेकपा एमाले दुवै पार्टी नेपालको राजनीतिक परिवर्तनमा महत्त्वपूर्ण भूमिका खेल्दै आएका छन् । महत्त्वपूर्ण एजेन्डामा सहकार्य भएको लामो इतिहास छ । २०४६ साल, ६२/६३ सालको आन्दोलन, संविधान निर्माण र यसको कार्यान्वयन हाम्रो सहमतिको उदाहरण छ,’ देउवाले भने, ‘कांग्रेसले महत्त्वपूर्ण विषयमा विद्यमान दलबीच संवाद र सहकार्यको नीति लिएको छ । हामी यसको निरन्तरताको पक्षमा छौं । फेरि पनि यस्तो सहकार्य जरुरी छ ।’ 

२१ फागुनमा सत्ता समीकरण टुटाएको घटनापछि एमालेप्रति देउवा कठोर हुँदै जाने धेरैको अनुमान थियो । तर, दुई महिना नपुग्दै देउवाले संविधान कार्यान्वयन, संसदलाई बिजनेस दिनेजस्ता कुरामा एमालेसँग मिलेर जान सकिने प्रस्टै बताएका हुन् । 

‘संविधानको रक्षा र सुदृढीकरणका लागि प्रमुख दलबीच न्यूनतम् सहमति आवश्यक छ,’ देउवाले भने, ‘संसद्लाई राष्ट्रको हितमा काम गर्ने बनाउन पनि सहकार्य जरुरी छ ।’

एमालेप्रति देउवाको नरम बोलीपछि बोलेका प्रधानमन्त्री प्रचण्डले समीकरणमा खटपट ल्याउन नचाहेको बरु ओलीलाई विश्वास गरेर जाने पटक–पटक बताए । 

कार्यक्रम स्थलमा आउनुपूर्व एमालेले प्रस्तुत गरेको डकुमेन्ट्रीमा माओवादीको आलोचना कम भएको भन्दै उनले ओलीमाथि विश्वास रहेको प्रस्ट्याए । 

‘एमालेको देखाएको भिडियो क्लिपमा माओवादीप्रति नकारात्मक टिप्पणी केही नभएको ओलीजीले बताउनुभयो । म केपीजीलाई विश्वास गर्न चाहन्छु,’ उनले भने ।

अघिल्लोपटक हतारिएर र दौडिएर पार्टी एकता गर्दा दुर्घटनामा परेको भन्दै प्रचण्डले विगतको तीतोबाट यसपटक सिक्ने बताए । पछिल्लो समीकरणमा राम्रो शुरूआत भएको भन्दै प्रचण्डले राम्रो सहकार्य गरेर जनतालाई सेवा दिनुपर्ने बताए । 

‘राम्रो सहकार्य शुरू गरेका छौं र राम्रो सहकार्य गरौं । जनतालाई सेवा दिऊँ, यसले नै दलबीच सहमति र एकताको आधार तय हुन्छ,’ उनले भने, ‘समझदारी गर्दै जाऊँ भन्ने कुरा नै अहिलेलाई उचित हो कि भन्ने लाग्छ ।’

null

पटक–पटक अविश्वासको चक्रबाट गुज्रेकाले पनि ओलीलाई विश्वास गर्ने पक्षमा आफू रहेको प्रचण्डले एउटै वाक्यमा दुईपटक बताए । 

‘केपी ओली कमरेडलाई म विश्वास गर्छु, किनकी हामीले हिजोका दिनमा विश्वास र अविश्वासको निकै ठूलो चक्र गुजारेका छौं,’ प्रचण्डले भने, ‘यसैले म ओलीजीमाथि विश्वास गर्न चाहन्छु ।’

प्रचण्डले पटक–पटक विश्वास र भरोसा जनाएको छु भनेपछि बोलेका ओलीको बोली प्रचण्डसँग कम र देउवासँग बढी मिलेको देखिन्छ । ओलीले पनि प्रचण्डकै शब्द सापटी लिएर वामपन्थी अहिले नै मिल्ने भए हिजो किन फुटेको भन्दै प्रश्न उठ्ने बताए । 

‘प्रचण्डजीले भने जस्तै अहिले तत्काल पार्टी एकीकरण गरिहालौं, भइहाल्छ भन्नु व्यक्तिगत आकांक्षा तुष्टि मात्र हुन्छ । अहिलेको सहकार्यको माध्यमबाट निकट हुन्छौं । क्रमशः हामी एकताको बाटोमा पुग्न सक्छौं,’ ओलीले भने, ‘अहिले नै एकीकरण गरौं देशभरका मिलौं भन्यौं भने किन फुटेका थियौं, के भएर फुटेका थियौं भनेर प्रश्न उठ्छन् ।’ 

ओलीले ‘वामपन्थी मात्रै मिल्दा देश नै बिथोलिने’समेत उनले बताए ।

‘वामपन्थी मात्रै मिलेर अगाडि बढ्ने अवस्था होइन,’ ओलीले भने, ‘देशभक्त, राष्ट्रभक्त, सार्वभौमसत्ता, स्वाधीनता, अखण्डता, राष्ट्रिय स्वाभिमानको पक्षमा, भ्रष्टाचारविरुद्धका शक्ति मिलेर विकासलाई अगाडि बढाउनुपर्छ । यस्तो नगरे देश बिथोलिन्छ ।’

लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्न देश नै मिल्नुपर्ने ओलीको भनाइ थियो । 

‘एकताका दुई पक्ष छन् । अहिले सिंगो देश एक हुनुपर्छ । के कुरामा भने लोकतान्त्रिक गणतन्त्रलाई रक्षा र सबल बनाऊँ । यसलाई माध्यम बनाएर सुशासन र विकासमा जाऊँ, विद्वेश होइन,’ ओलीले भने, ‘लोकतन्त्रको विकल्प खोज्न होइन, रक्षा गर्न सिंगो देश एक हुनुपर्छ । हुन सकिन्छ ।’

पछिल्लो फेरिएको समीकरणबारे ओलीले ‘देशका समस्या, गरिबका समस्या समाधान र स्थिरता दिन लाग्नुपर्छ’ मात्रै भने । यसको दिगोपन, बचाउ र भावी कार्यदिशाका बारेमा ओलीले लामो व्याख्या गरेनन् । तर, सम्बोधनको बिट मार्दै एमाले अध्यक्ष ओलीले ‘देउवाजी मेरा अन्यन्तै आदरणीय नेता’ भन्दै प्रधानमन्त्रीका लागि पनि योग्य रहेको संकेत गरे । 

‘मेरा अत्यन्तै आदरणीय मित्र शेरबहादुर देउवाजी, विपक्षी दलका नेता, पूर्वप्रधानमन्त्री, पूर्वप्रधानमन्त्री पनि ५ पल्ट भन्नुपर्छ– पूर्व, पूर्व, पूर्व, पूर्व, पूर्व भनेर र उहाँ काफी धेरैपल्ट प्रधानमन्त्री भएको व्यक्ति हुनुहुन्छ । र, अहिले पनि जोश तगडा छ, यसो समातेर सिँढीबाट साथ दिन्छु भन्दा म सक्छु भन्नुहुन्छ । जवान जोश छँदैछ ।’

गोदावरीमै बसेको प्रतिनिधि परिषद् बैठकमा राजनीतिक प्रस्ताव पेश गर्दा पनि ओलीले वामपन्थी एकताभन्दा प्रमुख दल नै मिल्नुपर्ने बताएका थिए । 

‘मुलुकमा जस्ता गम्भीर समस्याहरू छन्, तिनको समाधानका लागि सबै राजनीतिक पार्टीमाझ निरन्तर संवाद आवश्यक छ । मुख्य प्रश्नहरूमा न्यूनतम् समझदारीको खाँचो छ । अनि, विचार मिल्नेहरूमाझ सहकार्य आवश्यक छ,’ ओलीको राजनीतिक शक्ति सन्तुलन र पार्टीहरूबीचको सम्बन्ध शीर्षकको प्रस्तावमा उल्लेख छ, ‘त्यसैले यति नै बेला निश्चित दल, विचार या शक्तिलाई निषेध गर्नेगरी अगाडि बढाइने वामपन्थी एकता या समाजवादी ध्रुव या अन्य कुनै नाममा गरिने ध्रुवीकरण उचित, व्यावहारिक र लाभदायी हुँदैन ।’

एमालेले आयोजना गरेको हीरक महोत्सव कार्यक्रमका सञ्चालक महासचिव शंकर पोखरेलले समेत देउवाको उस्तै प्रशंसा गरेका थिए । ‘हाम्रो पार्टीका अध्यक्ष केपी शर्मा ओलीका जेल जीवनका अनन्य मित्र’ भन्दै पोखरेलले देउवालाई मञ्चमा बोलाएका थिए । 

कार्यक्रममा प्रमुख अतिथिका रूपमा आमन्त्रण गरिएकी पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले समेत जनताको पक्षमा काम गर्न नसकिए लोकतान्त्रिक प्रणाली आलोचनाको भागीदार बन्नुपर्ने भन्दै उनले दलहरूलाई सचेत गराएकी थिइन् । 

 

salt training

कमेन्ट गर्नुहोस्