३१ असार २०८३, बुधबार

रारामा रिसोर्ट निर्माणका लागि सम्झौता हुनु खुसीको कुरा हो : प्रधानमन्त्री

बैशाख १९, २०८१
काठमाडौं
रारामा रिसोर्ट निर्माणका लागि सम्झौता हुनु खुसीको कुरा हो : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तेस्रो लगानी सम्मेलनका क्रममा रारा होल्डिङसँग एक्पर्ट ग्रुप अष्ट्रेलियाबीच रारामा रिसोर्ट निर्माणका निम्ति सम्झौता भएकोमा खुसी व्यक्त गरेका छन् । पर्यटन प्रवर्धनका लागि नेपाल सरकारको सहयोग रहने उनको भनाइ छ ।

बुधवार बिहान रारा होल्डिङका प्रतिनिधिहरूसँगको कुराकानीमा प्रधानमन्त्रीले यस्तो बताएका हुन् । ‘राराको मुर्माटपमा रिसोर्ट निर्माणका निम्ति भएको सम्झौता महत्त्वपूर्ण छ। नेपालमा समृद्धिका लागि प्रचुर सम्भावनाका क्षेत्रमध्ये पर्यटन एक महत्त्वपूर्ण क्षेत्र हो', उनले भने, 'त्यसका निम्ति पर्यटकहरूका निम्ति पर्यटन पूर्वाधारमा राज्यले जोड दिनुपर्दछ। तपाईहरू निजी क्षेत्र आफैले यसका निम्ति पहल लिनुभएकोमा म खुसी छु। यस रारामा आन्तरिक र बाह्य पर्यटनमा महत्वपूर्ण योगदान पुग्नेछ।’

प्रधानमन्त्रीले रारामा पर्यटकको आकर्षणका निम्ति राज्यको तर्फबाट पूर्वाधार विकासमा सहयोग गर्ने विश्वाससमेत दिलाए ।

उनले भने, ‘रिसोर्ट निर्माणका निम्ति राज्यले समेत पूर्वाधार विकासमा भूमिका खेल्नेछ। मुख्यतः त्यहाँ पुग्ने सडक निर्माण, विद्युत् प्रशारण, खानेपानी लगायतका क्षेत्रमा नेपाल सरकारको तर्फबाट सहयोग हुनेछ। यो लगानीले नेपालमा पर्यटक भित्राउन मात्र सहयोग पुग्ने छैन। आन्तरिक राजश्वसमेत अभिवृद्धि हुनेछ।’

भेटमा रारा होल्डिङ प्रालिका अभिषेकविक्रम शाह र एक्पर्ट ग्रुप अष्ट्रेलियाका सञ्जीव शर्माले लगानी सम्मेलनमा भएको सम्झौताबमोजिम निर्धारित समयमा नै काम सम्पन्न गरिने बताएका थिए ।

तेस्रो लगानी सम्मेलनका क्रममा रारा होल्डिङ र एक्पर्ट ग्रुप अष्ट्रेलियाबीच १ अर्ब १० करोड रुपैयाँको लागतमा रारामा अत्याधुनिक रिसोर्ट निर्माण गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको थियो।

salt training

कमेन्ट गर्नुहोस्