
पशुपति आर्यघाटस्थित विद्युत् शवदाह निःशुल्क गरिने भएको छ ।
आगामी साउन १ गतेदेखि विद्युतीय शवदाह निःशुल्क गर्न लागिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा मिलनकुमार थापाले जानकारी दिए ।
निम्न आय भएका तथा गरिब व्यक्तिले आफन्त गुमाउँदा आर्थिक अभावका कारण दाहसंस्कार गर्न नसकेर पिरोलिनुपर्ने अवस्था नआओस् भनेर विद्युतीय शवदाह निःशुल्क गर्ने निर्णय गरिएको उनको भनाइ छ ।
'आफ्ना आफन्त गुमाउँदा आर्थिक अभावले पिरोलिनु नपरोस् भन्ने हाम्रो उद्देश्य हो । सो शवदाहलाई निःशुल्क गर्ने विषयमा यसअघि पनि हामीले पहल गर्दै आएका थियौँ । अब आगामी साउन १ गतेदेखि विद्युत् शवदाह निःशुल्क गर्छौं', उनले भने ।
यसैगरी सदस्य सचिव डा थापाले सेतो सत्तल गुह्येश्वरीमा धार्मिक एवं सांस्कृतिक अध्ययन अनुसन्धानका लागि अन्तर्राष्ट्रियस्तरको पुस्तकालय निर्माण गर्ने निर्णय भएको जानकारी दिए ।
पशुपतिनाथमा जलहरी राख्ने कार्यमा भ्रष्टाचार भएको भन्दै मुद्दा परेपछि निलम्बनमा परेका सदस्य सचिव डा थापाले मङ्गलवार विशेष अदालतबाट सफाइ पाएपछि पुनः कार्यभार ग्रहण गरेका छन्।
विशेष अदालतले मङ्गलवार सदस्य सचिव डा थापासहित डा प्रदीप ढकाल र अरुणकुमार श्रेष्ठलाई सफाइ दिएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विसं २०८० असोज १४ गते उनीहरू तीनै जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।