
अत्यधिक गर्मी बढ्दै गएपछि बुटवलका विद्यालय २ दिन बिदा हुने भएका छन् ।
बुटवल उपमहानगरपालिकाले बुधवार एक सूचना जारी गर्दै वैशाख २० र २१ गते विद्यालयलाई बिदा गर्न निर्देशन दिएको हो ।
अत्यधिक गर्मी बढेको र तातो हावा चल्न थालेकाले विद्यार्थीहरूको स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने सम्भावना भएकाले विद्यालय बिदा गर्न आग्रह गरिएको उपमहानगरले जनाएको छ ।
'गत केही दिनदेखि अत्यधिक गर्मी बढ्दै जानुका साथै तातो हावा चल्न थालेको कारण विद्यालयमा विद्यार्थीहरूको स्वास्थ्यमा समेत गम्भीर असर पर्न सक्ने सम्भावना देखिएको हुँदा विद्यालयहरूले गर्न पाउने वार्षिक बिदाबाट कट्टी हुने गरी मिति २०८१ साल वैशाख २० र २१ गते जम्मा २ दिन विद्यालय बिदा गर्नुहुन यस कार्यालयको मिति २०८१।१।१८ को निर्णयअनुसार निर्देशन गरिएको ब्यहोरा अनुरोध छ', सूचनामा भनिएको छ ।
