
तनहुँको व्यास नगरपालिकाले हालसम्म आठ सय ८२ जनालाई अपाङ्गता परिचयपत्र वितरण गरेको छ ।
आर्थिक वर्ष २०७९/८० मा आठ सय २५ र चालू आवको वैशाख २१ सम्म ५७ जनालाई अपाङ्गता परिचयपत्र प्रदान गरिएको हो ।
निवेदन दिएपछि अपाङ्गता समन्वय समितिको बैठकले शारीरिक अवस्था हेरी परिचयपत्र दिने गरेको व्यास महिला बालबालिका, अपाङ्गता तथा ज्येष्ठ नागरिक उपशाखाकी अधिकृत एवं समितिकी सदस्य सचिव राधा आचार्यले जानकारी दिइन् ।
अपाङ्गता परिचयपत्र लिएका मध्ये ‘क’ वर्गका एक सय ३५ जना छन् ।
‘ख’ वर्गका तीन सय ३८, ‘ग’ वर्गका दुई सय २६ र ‘घ’ वर्गका एक सय १६ जना रहेका छन् । त्यसैगरी चालू आर्थिक वर्षमा ५७ जनालाई परिचयपत्र वितरण गरिएको छ ।
जसमा ‘क’ वर्गका आठ, ‘ख’ वर्गका २३, ‘ग’ वर्गका १९ र ‘घ’ वर्गका चार जना रहेका छन् ।
सङ्घीय सरकारले ‘क’ वर्गका अपाङ्गतालाई मासिक रु तीन हजार नौ सय ९०, ‘ख’ वर्गकालाई रु दुई हजार एक सय २८ र ‘ग’ वर्गकालाई रु चार हजार सामाजिक सुरक्षाभत्ता प्रदान गर्दै आएको छ ।
‘घ’ वर्गका अपाङ्गता व्यक्तिलाई भत्ताको सुविधा नभए पनि स्वास्थ्य सेवालगायतका सुविधा पाउन सहज हुने व्यासकी उपप्रमुख इन्दिरा दरैले जानकारी दिइन् ।