२८ जेठ २०८३, बिहीबार
सरसर्ती २४ घण्टा

जसपा विभाजित, उपेन्द्र यादवको मन्त्री पदसमेत संकटमा

बैशाख २४, २०८१
काठमाडौं
जसपा विभाजित, उपेन्द्र यादवको मन्त्री पदसमेत संकटमा

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–

१२ सांसद रहेको जनता समाजवादी पार्टी विभाजन भएपछि अध्यक्ष उपेन्द्र यादवसँग ५ सांसद बाँकी रहेका छन् । सात सांसदले जसपा पार्टी गठन गरेपछि उपेन्द्रसँग उनीबाहेक ४ सांसद बाँकी रहेका हुन् ।

बाँकी रहेका सांसदमा राजकिशोर यादव, रेखा यादव, प्रकाश अधिकारी र दीपक कार्की छन् ।

१२ मध्ये अशोक राई, प्रदीप यादव, वीरेन्द्र महतो, नवलकिशोर साह सुडी, सुशीला श्रेष्ठ, हसिना खानुत र  रञ्जु ठाकुर  नयाँ पार्टीतिर लागेका छन् । राईको नेतृत्वमा बनेको नयाँ दलको नाम जसपा राखिएको छ । उपेन्द्रसँग पार्टी फुटेको भन्दै नयाँ दलका लागि आइताबर नै निर्वाचनमा आयोगमा निवेदन दिइसकिएको छ । 
७ सांसद बाहिरिएपछि उपेन्द्रको पार्टी ६ सांसद रहेको जनमतभन्दा पनि सानो बन्न पुगेको छ ।

यसैबीच उपेन्द्र यादवको मन्त्री पद संकटमा परेको छ । हाल अमेरिकामा रहेका उनी उपप्रधान एवम् स्वास्थ्यमन्त्रीबाट पदमुक्त हुने खतरा बढेको नेताहरु बताउँछन् । उपेन्द्रले कांग्रेससँग मिलेर अहिलेको गठबन्धन भत्काउने प्रयास गरेपनि अहिलेको परिस्थिति बनेको बताइएको छ । दल फुटाउन सत्तारुढ गठबन्धनकै केही नेताको भूमिका रहेको दाबी गरिएको छ । 
००००
जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजनको कनेक्सन नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको पछिल्लो सक्रियतासँग समेत सम्बन्धित रहेको पाइएको छ ।

नेपालले जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवलाई समेत साथमा लिएर वैकल्पिक गठबन्धनका लागि प्रयास गरिरहेका बेला जसपा विभाजन भएको हो । 

उपप्रधान तथा स्वास्थ्यमन्त्री समेत रहेका यादव अमेरिका उड्नुअघि नेपालले उनीसँग गोप्य छलफल गरेका थिए ।

‘माधव नेपाल र उपेन्द्र यादव मिलेर एक(एक वर्ष प्रधानमन्त्री बन्ने र यो गठबन्धन ढाल्ने खेल भइरहेको थियो, त्यसैविपरीत जसपा विभाजन भएको हो,’ विश्वस्त स्रोतले भन्यो ।

उपेन्द्रले यसबीचमा कांग्रेस सभापति शेरबहादुर देउवासँग पनि गोप्य छलफल गरेका थिए । देउवासँग मिलेर आलोपालोमा प्रधानमन्त्रीसमेत खाने रणनीतिमा रहेका उपेन्द्र अहिले संकटमा छन् । 
००००
गण्डकी प्रदेशका सभामुख कृष्ण धितालले मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको घोषणा गरेका छन् ।

६० सदस्यीय प्रदेश सभामा मुख्यमन्त्री खगराज अधिकारीले राखेको विश्वासको मतको पक्षमा ३० सांसद मात्रै देखिएका थिए ।

सभामुख धितालले बहुमत पुगेको घोषणा गरेपछि कांग्रेसले प्रक्रिया मान्दैनौं भन्दै बैठकमै कालो झण्डा देखाएका थिए ।
००००
नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य निर्धारण गरेको छ ।
वैशाख २४ गतेदेखि लागू हुने नयाँ मूल्यअनुसार मध्यम अण्डा प्रतिक्रेट ३५० रुपैयाँ पर्ने संघले जनाएको छ ।
००००
उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र मलेसियाका गृहमन्त्री सैफुद्धिन नसुत्तिन इस्माइलबिच फोनवार्ता भएको छ ।
गत मंगलवार दुई जनाबीच फोनमा कुराकानी भएको मलेसियाका गृहमन्त्री इस्माइलले सामाजिक सञ्जाल फेसबूकमार्फत जानकारी गराएका छन् ।
००००
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आइतबार पनि ओरालो लागेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक २४ दशमलव ५८ अङ्कले ओरालो लागेर एक हजार नौ सय ७४ दशमलव ३७ मा सीमित भएको हो ।
००००
काठमाडौं महानगरपालिकाले यही वैशाख १९ गतेदेखि शुरू गरेको ‘सीप मेला २०८१’ का लागि १० हजार बढीले आवेदन दिएका छन् ।
कामपाले दुई हजार ८१ जनालाई प्रशिक्षण दिने लक्ष्यसहित मेला शुरू गरेकोमा १० हजार बढीले आवेदन दिएका हुन् ।
००००
नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री खामिखावा योको स्वदेश फिर्ता भएकी छन् । जापानको विदेशमन्त्री नियुक्त भएपछि उनको यो पहिलो नेपाल भ्रमण रहेको थियो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई परराष्ट्र सचिव सेवा लम्सालले बिदाइ गरिन् । आइतबार नेपाल आएकी उनले राष्ट्रपति रामचन्द्र पौडेलसँग शीतल निवास र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग सिंहदरबारमा शिष्टाचार भेटवार्ता गरेकी थिइन् ।
००००
राजस्व अनुसन्धान विभागको महानिर्देशकको जिम्मेवारी चक्रबहादुर बुढाले पाएका छन् ।
विभागमा रहेका नवराज ढुंगानालाई शुक्रबार प्रधानमन्त्री कार्यालयमा सरुवा गरेर उनको ठाउँमा बुढालाई जिम्मेवारी दिइएको हो ।
००००
कोशी प्रदेशमा नेपाली कांग्रेसले आफ्नै दलबाट मुख्यमन्त्री केदार कार्की नेतृत्वको सरकार टिकाउन प्रयास गर्ने भएको छ ।
संविधानले दिएको बाटोलाई अवलम्बन गरेर कांग्रेस सरकार टिकाउन लाग्ने प्रमुख सचेतक गोपाल तामाङले बताए ।
००००
क्रिकेटर सन्दीप लामिछानेको मुद्दा आइतबार हेर्न नमिल्नेमा परेको छ । उच्च अदालत पाटनका मुख्य  न्यायाधीश नृपध्वज निरौला र न्यायाधीश दुर्गाप्रसाद ढुंगेलको इजलासमा पेसी चढे पनि हेर्न नमिल्नेमा राखिएको हो ।
००००
नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले पहिलोपटक कार्यकारी निर्देशकका रूपमा जिम्मेवारी सम्हाल्दा नुवाकोटमा बनाइएको २५ मेगावाटको सोलार ग्रिडमा करिब ६८ करोड हिनामिना गरेको भेटिएको छ ।

सस्तोमा टेन्डर भरेको चीनको पेंगाओ एन्ड हेरोन जेभीलाई कानूनविपरीत हटाएर घिसिङले ६८ करोडभन्दा बढी बोलपत्र पेश गरेको राइजेन इनर्जीलाई छनोट गरी ठेक्का दिएको देखिएको हो ।
००००
नेकपा एमालेका अध्यक्ष केपी ओलीले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई विश्वासको मत दिने विषयमा हतार नगर्न पार्टी पंक्तिलाई निर्देशन दिएका छन् । 

वैशाख २१ वैशाखमा सोडारीले विश्वासको मत लिने तयारी गरेका थिए । तर एमालेले तत्काल मत नदिने अडान लियो । पार्टीको यही अडानपछि शनिबार राति भेट्न आएका एमाले सुदूरपश्चिम प्रदशका सचेतसहितसँगको भेटमा ओलीले विश्वासको मत दिने विषयमा हतार नगर्न निर्देशन दिएका हुन् ।
००००
नेपाल सरकारले सय रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने निर्णय गरेकोप्रति भारतले असन्तुष्टि जनाएको छ । 
भारतीय विदेशमन्त्री एस जयशंकरले नेपालले एकतर्फी निर्णय गरेको भन्दै असन्तुष्टि जनाएको टाइम्स अफ इन्डियाले आइतबार समाचार प्रकाशित गरेको छ ।  

salt training

कमेन्ट गर्नुहोस्