
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले आगामी आर्थिक वर्षमा ज्येष्ठ नागरिकका निम्ती विशेष कार्यक्रम आउने बताएकी छन् ।
समाज कल्याण परिषद् अन्तर्गत रहेको राष्ट्रिय ज्येष्ठ नागरिक कोषले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौधरीले त्यस्तो बताएकी हुन् ।
कोषका सभापति बसन्तराज कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै उनले ज्येष्ठ नागरिक हामी सबैको अग्रज, पुजनीय व्यक्तित्व भएको हुनाले उनीहरूप्रतिको दायित्व सबैले निर्वाह गर्न आवश्यक रहेको बताइन् ।
पछिल्लो समय आफ्नै सन्तान, आफन्त, समाज, परिवारले समेत ज्येष्ठ नागरिकलाई बेवास्ता गर्ने प्रवृत्ति बढेको भन्दै मन्त्री चौधरीले त्यो समस्यालाई समाधान गर्नका निम्ती सन्तानको कमाईको १० प्रतिशत आफ्ना आमा बुवाका निम्ती छुट्याउने व्यवस्था गरिएको बताइन् ।
मन्त्री चौधरीले आफ्ना सन्तान हुर्काउँदै गर्दा आफूलाई जन्मदिने मातापितालाई बिर्सन नहुने बताइन् ।