३० असार २०८३, मंगलबार
जसपा विभाजन

दल विभाजनपछिका उपेन्द्र : संघमा एकाएक कमजोर, प्रदेशमा 'ब्रान्ड' कायमै

बैशाख २४, २०८१
काठमाडौं
दल विभाजनपछिका उपेन्द्र : संघमा एकाएक कमजोर, प्रदेशमा 'ब्रान्ड' कायमै

दल विभाजनका कारण जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव राष्ट्रिय राजनीतिमा एकाएक कमजोर बने पनि मधेश प्रदेश सभामा भने त्यसको ठूलो प्रभाव नपर्ने देखिएको छ ।

संघीय सरकारका उपप्रधान तथा स्वास्थ्य मन्त्री यादव अमेरिका भ्रमणमा रहेका बेला पार्टीका १२ मध्ये ७ सांसदले विद्रोह गर्दै नयाँ दल दर्ताका लागि आइतबार निर्वाचन आयोगमा निवेदन दिएका छन् ।

उपेन्द्रको पक्षमा जम्मा ५ सांसद मात्र देखिएका छन् । केन्द्रमा उपेन्द्रको जसपा नेपालभन्दा प्रस्तावित नयाँ दल (जसपा) बलियो देखिए पनि प्रदेशमा भने अधिकांश सांसद संस्थापन पक्षमै रहने देखिएको हो ।

मधेशमा पार्टी संसदीय दलका नेता सरोज यादवको अध्यक्षतामा सोमबार बिहान ८ देखि १ बजेसम्म बसेको संसदीय दलको बैठकमा उपस्थित सांसदहरूले मूल पार्टीमै रहने प्रतिबद्धता जनाएका छन् ।

'जनमत पार्टीले अवरुद्ध गर्दै आएको सदन सुचारु गर्नका लागि पहिलेदेखि नै निर्धारित संसदीय दलको बैठक आज बसेको थियो,' जसपा नेपालका सांसद रामअशिष यादवले लोकान्तरसँग भने, 'जनमत पार्टीसँग वार्ता र संवाद गरी सदन सुचारु गर्ने निर्णय भयो । त्यसबाहेक पार्टी विभाजन भए पनि संस्थापन पक्षमै एकढिक्का भएर लाग्ने निर्णय भएको छ ।'  

मधेश प्रदेश सभामा जसपा नेपालका १९ सांसद छन् । दलका नेता सरोज यादवको नेतृत्वमा प्रदेश सरकार छ ।

'एक दुईजना सांसद निजी कारणले अनुपस्थित थिए । १६ जना उपस्थित भएकोमा संस्थापन पक्षमा सबै एक ढिक्का छौं,' सांसद रामआशिष यादवले लोकान्तरसँग भने, 'पार्टी फुटको कारणले मधेश प्रदेश सरकारलाई कुनै असर परेको छैन । हाम्रो सरकार यथावत रहन्छ ।'

मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादव पनि प्रदेशमा १९ को १९ जना सांसदहरू एकढिक्का रहेको बताए ।

'आज बसेको संसदीय दलको बैठकमा १९ मध्ये १६ जना सांसदहरू उपस्थित भएका थियौं,' मुख्यमन्त्री यादवले लोकान्तरसँग भने, 'शारदा शंकर माननीयज्यू चितवनमा एउटा बिहेमा जानुभएको छ । सजिदा खातुनको घरमै बिहे छ । अर्का एकजना निजी कामले उपस्थित हुन सक्नुभएन ।' उपस्थित १६ जना र अनुपस्थित रहेका ३ सहित १९ जना नै संस्थापन पक्षमा एकढिक्का रहेको उनले दाबी गरे ।

अहिलेको विभाजनले प्रदेश सरकारलाई कुनै असर नपरेको उनको जिकिर छ ।

'केन्द्रमा पनि हामी सरकारमै छौं । प्रदेशमा पनि हाम्रो नेतृत्वमा सरकार छ,' मुख्यमन्त्री यादवले थपे, 'केन्द्रको सत्ता समीकरण के हुन्छ, त्यसले स्वाभाविकरूपमा मधेश प्रदेश मात्र होइन, सातै प्रदेशमा असर पार्छ ।'

पार्टी फुटाउनु दुर्भाग्यपूर्ण रहेको भन्दै उनले पार्टी फुटाएर जानेहरूको भविष्य नरहेको जिकिर गरे ।

मुख्यमन्त्रीले यस्तो जिकिर गरे पनि विद्रोही पक्षले भने प्रदेश प्रदेश सभाबाट पनि ७ सांसद आफूहरूको साथमा रहेको दाबी गरेको छ ।

'अहिले ७ जना प्रदेश सांसद हाम्रो पक्षमा हुनुहुन्छ । भोलिपर्सिसम्ममा त्यो पिक्चर क्लियर हुन्छ,' जसपा नेपालबाट मधेश प्रदेशमा प्रतिनिधित्व गर्ने ती सांसदले भने ।

अशोक राईको नेतृत्वमा ७ जना संघीय सांसद आइतबार निर्वाचन आयोग पुगेर जनता समाजवादी पार्टी नामक नयाँ दल दर्ताका लागि निवेदन दिएका छन् । राईसँगै बहालवाला वन तथा वातावरण मन्त्री नवलकिशोर साह सुडी, प्रदीप यादव, वीरेन्द्र महतो, सुशीला श्रेष्ठ, हसिना खातुन, रञ्जु ठाकुर फुटेको पार्टीमा लागेका छन् । संस्थापन पक्षभन्दा २ सांसद बढी नै नयाँ पार्टीमा देखिएका छन् ।

वन तथा वातावरण राज्यमन्त्री दीपक कार्कीको नाम नयाँ पार्टीले आफ्नो खेमामा देखाए पनि कार्कीले भने आफू संस्थापन पक्षमै रहेको जनाएका छन् । धनुषा- १ बाट निर्वाचित सांसद कार्कीका स्वकीय सचिव रामनारायण कापडीले विज्ञप्ति जारी गरी कार्की संस्थापन पक्षमा नै यथावत रहेको जनाएका हुन् ।

संस्थापन पक्षमा अध्यक्ष उपेन्द्र यादवसँगै सांसदहरू राजकिशोर यादव, दीपक कार्की, प्रकाश अधिकारी र रेखा यादव छन् ।

चर्चित नेताहरूमध्ये मधेश प्रदेशबाट पूर्वमन्त्रीहरू रेणु यादव र प्रदीप यादव, वीरगञ्ज महानगरका प्रमुख राजेशमान सिंह मात्र विभाजित भएको नयाँ पार्टीमा लागेका छन् । लुम्बिनी प्रदेशका प्रभावशाली नेता तथा पूर्व मन्त्री इस्तियाक राई पनि नयाँ पार्टीमा लागेका छन् ।

पार्टी अध्यक्ष उपेन्द्र यादव अमेरिका भ्रमणमा रहेका बेला पार्टी विभाजन भएको हो । विभाजित पार्टीका सांसद नवलकिशोर साह सुडीले आफूहरू वर्तमान सरकारको स्थिरताको पक्षमा रहेको बताए ।

विभाजित पार्टीका संघीय परिषद अध्यक्ष राजेन्द्र श्रेष्ठले पनि यही सरकारलाई समर्थन रहने बताएका छन् ।

संस्थापन पक्ष जसपा नेपालका एक सांसद भने यही सरकारले पार्टी विभाजन गरेको आरोप लगाउँदै सरकारलाई दिइएको समर्थन फिर्ता लिइने बताउँछन् ।

'यही सरकारले हाम्रो पार्टी फुटायो । पार्टी फुटाउनेलाई समर्थन दिने कुरा हुँदैन,' ती सांसदले भने, 'अध्यक्षज्यू अमेरिकाबाट फर्किएपछि सरकारलाई दिइएको समर्थन फिर्ता लिने निर्णय हुन्छ ।'

salt training

कमेन्ट गर्नुहोस्