३० असार २०८३, मंगलबार

समानुपातिकको बन्दसूचीले कर्मचारीको निद्रा गायब

कात्तिक २०, २०७४
समानुपातिकको बन्दसूचीले कर्मचारीको निद्रा गायब
काठमाडौं, ३० असोज – निर्वाचन आयोगले मंसिरमा हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनको समानुपातिक तर्फका बन्दसूची पेश गर्नका लागि आइतवारको दिन निर्धारण गरेको थियो ।

प्रतिनिधि सभा र प्रदेश सभा गरेर कूल ४९ दलले आयोगमा बन्द सूची पेश गरेका छन् । आइतवार दिउँसोसम्ममा जम्मा दुई दलले समानुपातिक तर्फको बन्द सुची पेश गरेको भएपनि साँझ पाँच बज्न लाग्दा दलहरु सुची बोकेर एकाएक आयोगमा उपस्थित भए ।

कार्यालय समय भित्रमा आयोगमा बन्दसूची बोकेर जाने दललाई दर्ता गर्न दिने प्राबधान भएकोले आयोग पनि ढिला गरि पुगेका दलहरूलाई समेत बन्द सुची पेश गर्न दिनुपर्ने बाध्यतामा पर्यो ।

तर दलहरूले गरेको ढिलासुस्तीका कारणले निर्वाचन आयोगका कर्मचारीहरू आइतवार राति रातभर काम गर्न बाध्य भएका छन् । ‘पाँच बजेसम्म आउनेलाई दर्ता गर्न दिनुपर्ने प्राबधान छ,’ निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले लोकान्तरसंग भने, ‘मध्यरातसम्म काम सकिएको थिएन ।’ उनका अनुसार दलहरुले सूची दर्ताको निवेदन पेश गरेपछि अरु केही प्रक्रियाहरू पुरा गर्नुपर्ने भएकोले राति ढिलासम्म काम भएको हो ।

निर्वाचन अयोगका अनुसार प्रदेश तथा प्रतिनिधि सभा गरेर कूल ४९ दल दर्ता भएका छन् । प्रदेश नम्बर एक र दुईमा समान २९ दल दर्ता भएका छन् । प्रदेश नम्बर तीनमा ३१ र चारमा २० दल दर्ता भएका छन् । प्रदेश नम्बर पाँचमा २७ वटा दल दर्ता भएका छन् ।

प्रदेश नम्बर ६ मा १८ र सातमा २० दल दर्ता भएका छन् । आयोगले केही समयमै दल दर्ता बारेको अन्तिम सुचना प्रकाशन गर्ने तयारी गरेको छ । दलहरुले ढिलागरेर सूची लिएर आयोग पुग्दा कर्मचारीहरुलाई काम गर्न ढिला भएको हो ।

निर्वाचन आयोगका सचिव वेगेन्द्र शर्माले बन्दसूची दर्ताको काम रातभर लगाएर सकाएको जानकारी दिए । ‘सबै दलको काम सकाउँदा छ्याङै उज्यालो भएको थियो,’ शर्माले लोकान्तरसंग भने, ‘म विहानपख कार्यालयबाट आएर अहिले आराम गरिरहेको छु ।’

दिनभरी समानुपातिको बन्दसूचीका लागि रस्साकस्सी गरेका दलहरु साँझ चाहिँ बन्दसूची लिएर आयोगमा पुगेका थिए । बन्दसूचीका विषयमा पार्टी भित्रै हिसाब नमिलेकाले दलहरूले कात्तिक पहिलो साता अर्को सूची बुझाउने तयारी गरेका छन् ।

आयोगले २६ गते बन्द सूची पेश गर्ने अन्तिम समय तोकेको थियो । अब कात्तिक पाँच गतेसम्म दलहरुलाई बन्द सुची सच्याउनको लागि आयोगले जानकारी गराउने छ ।

दलहरुले कात्तिक १२ गतेसम्म बन्दसूची सच्याएर आयोगमा अर्को सूची बुझाउन पाउने छन् । त्यसपछि दाबी विरोध, उम्मेदवारी फिर्ता लगायका कामहरू हुने छन् । आयोगले मंसिर ३ गते अन्तिम बन्द सूची प्रकाशन गर्ने छ ।

salt training

कमेन्ट गर्नुहोस्