
अवैध बाटो प्रयोगगरी अमेरिका र क्यानडा पठाइदिने नाममा १० जनाबाट साढे पाँच करोड रुपैयाँ ठगी गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक भोटेकोशीका टासी शेर्पा, उनकी श्रीमती सिन्धुपाल्चोककै ङिमवुटी शेर्पा र निमा शेर्पा छन् ।
यो समूहले दुबई हुँदै केन्याबाट अमेरिका पठाउने प्रलोभन देखाएर १० जनाबाट रकम उठाउँदै अलपत्र पारेको प्रहरीले जनाएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ परेका मध्येकी ङिमवुटीले आफ्नो श्रीमान र छोरालाई अवैध बाटो हुँदै अमेरिका र क्यानडा पठाएको भन्दै गाउँका सर्वसाधरणलाई सुनाउने गरेकी थिइन् ।
उनको आश्वासनलाई विश्वास गरेर सिन्धुपाल्चोकका केही सर्वसाधरणले धमाधम पैसा बुझाएका थिए । अमेरिका र क्यानडामा फुड प्याकिङको काममा मासिक चार लाखसम्म कमाइ हुने प्रलोभन देखाएर मिङवुटीले पैसा असुलेकी थिइन् ।
अनुसन्धान कार्यालयले शुक्रबार घटना सार्वजनिक गर्ने क्रममा एसएसपी सानुराम भट्टराईले भने, ‘पीडित १० जना नेपाल फर्केर हाम्रो कार्यालयमा उजुरी दिएपछि अुनसन्धान गरेका थियौं, पीडितहरूले प्रहरीमा जानकारी गराएअनुसार अरु १५ जनालाई अमेरिका पठाउने भन्दै केन्यालगायत अफ्रिकी मुलुकमा बन्धक बनाएर राखेको र उनीहरूबाट साढे सात करोड रुपैयाँ असुलेका छन् । यस विषयमा हामी थप अनुसन्धान गर्छौं ।’
मिङवुटीले जोरपाटीमा आफ्नो घरमा ब्यूटीपार्लर र चिसा पसल सञ्चालन गरेकी छिन् । सोही ठाउँमा गाउँका सर्वसाधारणलाई बोलाएर रकमको कारोबार गर्दै आएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार भिसा निकाल्न र अन्य डकुमेन्ट बनाउन सुरुमै मिङवुटीले पाँच लाख रुपैयाँ लिँदै आएकी थिइन् । भिसा आएपछि टिकट काट्न पाँचदेखि सात लाख र ३५ सय डलर साट्न भनेर पाँच लाख रुपैयाँ असुल्दै आएको पीडितहरूले प्रहरीमा दिएको जाहेरीमा उल्लेख गरेका छन् । पीडितले प्रहरीमा जानकारी दिएअनुसार उनले एउटै व्यक्तिबाट बढीमा ५० लाख रुपैयाँसम्म उठाएकी थिइन् ।
दुबईलाई ट्रान्जिट बनाएर केन्या
यो गिरोहले काठमाडौंबाट दुबई ट्रान्जिट बनाई केन्याको राजधानी नैरोबीस्थित जोमो केन्यट्टा इन्टरनेश्नल विमानस्थलमा पुर्याउँदै आएका थिए । त्यहाँ पुगेपछि उनीहरूले सम्पर्क गराएका अफ्रिकी मुलका एजेन्टले रिसिभ गर्ने गरेका थिए ।
उनीहरूले ट्याक्सीमा राखी केन्याको जिम्मरमानस्थित भाडामा लिइराखेको घरको २ वटा फ्ल्याटमा लगेर ६ महिना बन्धकमा राखेको पीडितहरूले प्रहरीमा दिएको जाहेरीमा उल्लेख छ । उक्त घरमा पुग्नेवित्तिकै पीडितहरूबाट दुईदेखि तीन सय डलर मात्र बाँकी राखी सबै डलर र पासपोर्ट एजेन्टहरूले नै लिएर लिएर जाने गरेको पाइएको छ । ‘काम हुँदैछ पख्नुहोस्’ भनि ६ महिनासम्म कोठामा बन्धक बनाई राखेपछि केन्याका गिरोहले ‘यहाँ बसिरह्यो भने प्रहरीले दुःख दिन्छ’ भनेर एक घण्टाको दुरीमा रहेको नैरोवीस्थित किन्नो भन्ने स्थानमा अर्को घरको फ्ल्याटमा लगेर दुईदेखि तीन महिना राखेर मात्रै राहदानी फिर्ता दिएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
पीडितहरूले राहदानी पाएपछि त्यहाँ बस्दा लागेको खर्च पीडितहरूले आफ्नो घर तथा साथीहरूबाट मगाई हवाई टिकटसमेत आफैंले काटी नेपाल फर्किएको प्रहरीलाई जानकारी गराएका छन् । पीडितहरूले जानकारी गराएअनुसार अमेरिका पुर्याउन केन्याबाट क्यानडा, ब्राजिल, कोलम्बिया, मेक्सिको मध्ये कुनै रुट प्रयोग गरी पठाउने गरेको पाइएको छ ।
‘यो गिरोहले करिब १५ जना नेपालीहरूलाई अमेरिका पठाउन केन्यालगायत विभिन्न देशमा अहिले पनि बन्धक बनाई राखिरहेको र निजहरूबाट करिब ७ करोड ५० लाख रकम लिएको खुल्न आएको छ, हामी थप अनुसन्धान गर्दैछौं,’ एसएसपी भट्टराईले भने, ‘केन्यामा बन्धक बनाइएका नेपालीको सम्बन्धमा परराष्ट्रमार्फत् सोधीखोजी गरिने छ ।’