२७ जेठ २०८३, बुधबार

लुम्बिनीमा  एक लाख जीवित जन्ममा दुई सय सात जना आमाले ज्यान गुमाउँछन्

बैशाख २९, २०८१
रूपन्देही
लुम्बिनीमा  एक लाख जीवित जन्ममा दुई सय सात जना आमाले ज्यान गुमाउँछन्

लुम्विनी प्रदेशमा एक लाख जीवित जन्ममा दुई सय सात जना आमाले ज्यान गुमाउने गरेको लुम्बिनी प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ । नेपालगञ्जमा आयोजित अन्तरक्रियामा तथ्याङ्क अधिकृत मानबहादुर ओलीले देशभर भने प्रति एक लाख जीवित जन्ममा एक सय ५१ जना आमाले ज्यान गुमाउने गरेको तथ्याङ्क सार्वजनिक गरे । 

    लुम्बिनी प्रदेशमा भने ७६ हजार दुई सय ४३ जीवित जन्ममा एक सय ५८ जना आमाको मृत्यु भएको छ । प्रदेशमा सबैभन्दा बढी मातृ मृत्यु हुने जिल्ला बाँके र दोस्रोमा रुपन्देही रहेको उनले बताए । तथ्याङ्क अधिकृत ओलीका अनुसार एक सय ५८ जना मातृ मृत्यु हुँदा बाँकेमा ३६ र रुपन्देहीमा ३० जनाको मृत्यु भएको छ । 

त्यस्तै कपिलवस्तु २८, दाङमा १५, बर्दिया १४, पश्चिम नवलपरासी र गुल्मीमा सात÷सात जना, प्यूठान र रोल्पामा छ÷छ जनाको मृत्यु भएको छ । सबैभन्दा कम रूकुमपूर्वमा एक जना आमाको मृत्यु भएको तथ्याङ्कमा उल्लेख छ ।

मृत्यु हुने सङ्ख्यामा पनि ५४ प्रतिशत मातृ मृत्यु स्वास्थ्य संस्थामा हुने गरे पनि ४६ प्रतिशतको मृत्यु भने स्वास्थ्य संस्था भन्दा बाहिर हुने गरेको पाइएको छ । जसमा २९ प्रतिशतको घरमा, १२ प्रतिशतको एउटा स्वास्थ्य संस्थाबाट अर्को स्वास्थ्य संस्थामा जाँदै गर्दा र पाँच प्रतिशतको स्वास्थ्य संस्थामा जाँदै गर्दा हुने गरेको छ । 

मातृ मृत्यु दर सबैभन्दा उच्च रहेको लुम्बिनी प्रदेशमा नवजात शिशु मृत्यु दर पनि उच्च रहेको छ । जन्म पश्चात पहिलो २८ दिनभित्र हुने मृत्युलाई नवजात शिशु मृत्यु भनिन्छ । यो अवधिको मृत्यु पनि लुम्बिनी प्रदेशमा उच्च रहेको छ । लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्याङ्कअनुसार आव २०७९÷८० मा प्रदेशमा पाँच सय ८० नवजात शिशुहरूको मृत्यु भएको छ ।

लुम्बिनी प्रदेशका ४४ प्रतिशत सुत्केरी आमामा गर्भ अवस्थाबाटै रक्त अल्पताको समस्या रहेको पाइएको छ । आठ पटक अनिवार्य गर्भ जाँच गराउनुपर्ने भए पनि हाल ८८ प्रतिशतले मात्र गर्भ जाँच गराएको तथ्याङ्क रहेको र त्यसमा पनि सात प्रतिशतले मात्र गुणस्तरीय गर्भ जाँचको सुविधा पाउने गरेको तथ्याङ्क अधिकृत ओलीले बताए ।  

salt training

कमेन्ट गर्नुहोस्