
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेपाली कांग्रेसका शीर्ष नेतासँग छलफलमा जुटेका छन् । लामो समयदेखि सहज रुपमा प्रतिनिधिसभाको बैठक बस्न नसकेपछि निकासको पहल गर्न प्रधानमन्त्री प्रचण्डले छलफलका लागि प्रमुख प्रतिपक्षी दल कांग्रेसका शीर्ष नेतासँग बालुवाटारमा छलफल गरेका हुन् ।
छलफल मुख्यगरी सदनको गतिरोध फुकाउने विषयमा केन्द्रित भएको जानकारी प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले दिए ।
‘उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले बोल्न पाउँ भनेर निवेदन नै हाल्नुभएको छ । बोलेपछि माग गर्ने र असहमति राख्ने कुरा एउटा हो । तर बैठक नै चल्न नदिने नगर्नुस् भनेर प्रधानमन्त्रीले कांग्रेस नेतालाई आग्रह गर्न बैठक बोलाउनुभएको हो,’ आचार्यले लोकान्तरसँग भने, ‘सधैं यसरी हुँदै सदन खुलाउ, सहमति गर्दै जाउँ भनेर बोलाउनुभएको हो । भेटमा कांग्रेसका शीर्ष नेता सहभागी हुनुहुन्छ ।’
मुख्यगरी सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठनलाई प्रमुख प्रतिपक्षी कांग्रेसले बटमलाइन बनाउँदै आएको छ । तर सरकार तत्काल छानबिन समितिको पक्षमा रहेको देखिएको छैन । गृहमन्त्रीले पनि संसदमा आफूलाई बोल्न दिन माग गर्दै आएका छन् ।
प्रधानमन्त्री प्रचण्डसँगको छलफलका लागि कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, राष्ट्रियसभा संसदीय दलका नेता कृष्णप्रसाद सिटौला र कांग्रेसका प्रमुख सचेतक रमेश लेखकसहितका नेता सहभागी छन् ।