
नेपाल प्रहरीमा तीनवटा प्रहरी नायब महानिरीक्षक (डीआईजीको पद रिक्त छ । डीआईजीहरू उमेशराज जोशी र भीम ढकाल प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा भएपछि तीन डीआईजीको पद रिक्त भएको हो । रिक्त पदमा बढुवा हुन प्रतिस्पर्धीहरूबीच तीव्र दौडधूप शुरू भएको छ ।
अब डीआईजी बढुवा हुनेहरू मध्येबाटै एक जना प्रहरी नेतृत्वमा पुग्ने निश्चित भएकोले उनीहरूबीच तीव्र प्रतिस्पर्धा हुने देखिएको हो । यसैबीच एक नम्बरमा कसलाई ल्याउने भन्ने विषयसमेत पेचिलो बनेको छ ।
प्रहरी महानिरीक्षककै ब्याची अहिले एसएसपी छन् । एसएसपीहरू क्रमशः भोला रावल, ध्रुवराज राउत र गणेश चन्द महानिरीक्षक बसन्त बहादुर कुँवरसँगै २०५१ चैत ५ गते प्रहरी निरीक्षक (इन्सपेक्टर)बाट प्रहरी सेवामा प्रवेश गरेका वरिष्ठ अधिकृत हुन् । बढुवा भएको आधार मानेर सिनियारिटी हेर्ने हो भने २२ एसएसपीहरूमध्ये कृष्णहरि शर्मा पोखरेल एक नम्बरमा छन् । उनी २०७७ माघ ९ गते एसपीबाट एसएसपीमा बढुवा भएका थिए ।
बढुवा आकांक्षी रहेका एसएसपीहरू क्रमश: पोखरेल, रावल, राउत, चन्द, सिद्धि विक्रम शाह, सुशिल सिंह राठौर, उमाप्रसाद चतुर्वेदी, दानबहादुर कार्की, मनोजकुमार केसी, राजन अधिकारी, जीवनकुमार श्रेष्ठ, हिमालयकुमार श्रेष्ठ, डम्बरबहादुर विक, ओमबहादुर राना, ईश्वर कार्की, राजेन्द्रप्रसाद भट्ट, दिनेशकुमार आचार्य, अरुण पौडेल, गोविन्द थपलिया, माधवप्रसाद श्रेष्ठ, डिल्लीराज विष्ट र मनोजकुमार यादव छन् । सूचीअनुसार शाहदेखि यादवसम्म आउँदा फरक-फरक मितिमा प्रहरी सेवामा प्रवेश गरे पनि प्रहरी उपरीक्षक (एसपी)बाट एसएसपीमा एकै मितिमा (२०७९ साउन १ गते) बढुवा भएको देखिन्छ ।
एसएसपीहरू उमाप्रसाद चतुर्वेदी, हिमालयकुमार श्रेष्ठ, सिद्धिविक्रम शाह, माधवप्रसाद श्रेष्ठ, डम्बरबहादुर विक, ओमबहादुर राना र गणेश चन्द राष्ट्रिय अनुसन्धान विभाग (राअवि)बाट नेपाल प्रहरीमा प्रवेश गरेका अधिकारी हुन् । अरु प्रहरी अधिकारीहरू प्रहरी निरीक्षकबाटै नेपाल प्रहरीमा प्रवेश गरेका हुन् । डीआईजी बढुवामा राअविबाट प्रवेश गरेकालाई रोक्न अरु प्रहरी अधिकारीले रणनीति बनाएका छन् ।
अकांक्षीमध्येका एक जनाले नाम उल्लेख नगर्ने सर्तमा लोकान्तरसँग भने, ‘जस्केलाबाट छिरेकालाई कसैगरि पनि बढुवा हुन दिनु हुँदैन । बढुवामा नम्बर तलमाथि पर्ने फरक कुरा भयो, तर राअविबाट प्रहरीमा छिरेकालाई डीआईजी बढुवामा रोक्ने सबैको एकमत छ ।’
त्यसो त आईजीपी कुँवरलाई डीआइजी बढुवाका लागि सिफारिस गर्न उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने पटकपटक दबाब दिँदै आएका छन् । जेठ १० गते डीआईजी सुरेन्द्रप्रसाद मैनाली अनिवार्य अवकाशमा जाँदै छन् । मैनालीको अवकाशपछि डीआईजीको चार वटा पद खाली हुनेछ । त्यही बेला बढुवा निकाल्ने जोडबल कुँवरको छ । एसएसपीहरू दानबहादुर कार्की, मनोज केसी, राजन अधिकारी, सिद्धि विक्रम शाह र कृष्णहरि शर्मा पोखरेल बढुवाका बलिया दाबेदारको रूपमा हेरिएको छ ।
आईजीपी कुँवरले आफूसँगै प्रहरी सेवामा प्रवेश गरेका एसएसपी रावल र राउतमध्ये एक जनालाई डीआईजी बढुवामा छुटाउन नहुने अडान राख्दै आएका छन् । तर, २२ जना नै बढुवाको ‘मेरिट’भित्र पर्ने भएकाले ‘जसको शक्ति, उसैको भक्ति’ भन्ने उक्ति अनुसार दलीय सिफारिसमा जो अगाडि आउन सक्यो उसैको बढुवा हुने निश्चित देखिन्छ । प्रहरी मुख्यालय स्रोतका अनुसार गृहमन्त्री लामिछाने २२ जना प्रतिस्पर्धीमध्ये एसएसपीद्वय मनोज केसी र दानबहादुर कार्कीलाई छुटाउन नहुने अडान लिएका छन् ।
नाम उल्लेख नगर्ने सर्तमा अर्का एक पूर्वआईजीपीले प्रहरी सेवामा प्रवेश गरेपछि उसको ओहोदाले पाउने सेवासुविधा र पदोन्नतिको दाबी गर्न पाउने बताए । ‘संगठनमा उदार नीति छ भन्ने अनि फलानो यहाँबाट आएको र त्यहाँबाट आएको भन्न थालियो भने त्यो संकिर्ण सोच हो,’ उनले भने, ‘उसको कार्यसम्पादन कस्तो छ त्यो हेर्नुपर्यो, मूल्यांकनमा पाएका नम्बर ट्याली गर्नुपर्यो । फलानो ठाउँबाट आएको हो त्यसलाई दिनु हुँदैन भन्ने सोच कसैले राख्नु हुँदैन ।’
पूर्वआइजीपी धिरजप्रताप सिंहले एउटै मितिमा एसएसपीमा बढुवा भएका सबै एसएसपीहरू बढुवाका उत्तिकै प्रतिस्पर्धी भएको बताए । उनले भने, ‘प्रहरी संगठनमा २८ वर्ष बिताइसकेपछि पनि को कहाँबाट आएको भन्न मिल्छ र भन्या ? सरकारको उतिबेलाको निर्णय कति ठिक/बेठिक थियो, त्यतातिर म जान्नँ तर, एउटै मितिमा बढुवा भएका एसएसपीहरू सबै उत्तिकै प्रतिस्पर्धी हुन् ।’
उनले कार्यक्षमता र कार्यदक्षताको मूल्यांकन बढुवा समितिले दिने अंकमा आधारित हुने भएकाले कसलाई गर्ने/नगर्ने अधिकार सरकारको रहेको बताए ।
प्रहरी महानिरीक्षक कुँवरले डीआईजी बढुवाको प्रक्रिया केही दिनमै शुरू हुने बताए । उनले भने, ‘एआईजी बढुवा टुंगियो, अब डीआईजीको बढुवा तयारी शुरू हुन्छ । यही महिनाभित्र टुंगो लगाउने तयारीमा छौं ।’