०४ साउन २०८३, सोमबार
दुई महिनामै सरकारबाट बाहिरियो जसपा नेपाल

उपप्रधान तथा स्वास्थ्य मन्त्री यादवले दिए राजीनामा

बैशाख ३१, २०८१
काठमाडौं
उपप्रधान तथा स्वास्थ्य मन्त्री यादवले दिए राजीनामा

उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले पदबाट राजीनामा दिएका छन् । यादवले सोमबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष राजीनामा पत्र बुझाएका हुन् । जसपा नेपालका अध्यक्षसमेत रहेका यादव गत फागुन २७ गते उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा नियुक्त भएका थिए ।

'सम्माननीय प्रधानमन्त्रीज्यूको नेतृत्वमा गठन गरिएको सरकारमा विगत करिब दुई महिनादेखि म उपप्रधानमन्त्रीको रूपमा जिम्मेवारी सम्हाल्दै आएकोमा वर्तमान विकसित राजनीतिक परिस्थितिमा सरकारमै रहेर सहकार्यलाई निरन्तरता दिन नसकिने भएको हुँदा उक्त जिम्मेवारीबाट राजीनामा दिन चाहन्छु,' उनले राजीनामा पत्रमा लेखेका छन्, 'आजसम्म तपाईंको नेतृत्वको सरकारमा रहेर सहकार्य गर्ने अवसर प्रदान गर्नुभएकोमा हार्दिक धन्यवाद दिन चाहन्छु ।'

उनी अमेरिका भ्रमणमा रहेका बेला जसपा नेपाल फुटेको थियो । जसपा नेपालबाट अशोक राई र राजेन्द्र श्रेष्ठले पार्टी विभाजन गरी जनता समाजवादी पार्टी गठन गरेका छन् ।

यादवसँगै जसपा नेपालबाट संघीय सरकारमा वन तथा वातावरण राज्यमन्त्री दीपक कार्कीले पनि राजीनामा दिएका छन् । यसअघि जसपा नेपालबाटै वनमन्त्री बनेका नवलकिशोर साह सुडी भने अशोक राई नेतृत्वको जसपामा लागेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले पनि उपप्रधानमन्त्री यादवको राजीनामा आएको पुष्टि गरेको छ । उपप्रधान मन्त्री यादवको राजीनामा आएको प्रधानमन्त्री प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।

प्रधानमन्त्री प्रचण्ड भने आइतबारदेखि नै चितवनमा छन् । उनी सोमबार साँझ मात्रै काठमाडौं फर्किने छन् ।

salt training

कमेन्ट गर्नुहोस्