२४ जेठ २०८३, आइतबार

पत्रकारको कार्यक्रममा उद्‌घाटनको फरक शैली, आचारसंहिता पालनाका लागि सामूहिक प्रतिबद्धता

जेठ १, २०८१
काठमाडौं
पत्रकारको कार्यक्रममा उद्‌घाटनको फरक शैली, आचारसंहिता पालनाका लागि सामूहिक प्रतिबद्धता

प्रेस काउन्सिल नेपालले पत्रकार आचारसंहिता पालनामा सामूहिक प्रतिबद्धता गराउँदै जागरण कार्यक्रम सम्पन्न गरेको छ ।

मंगलवार भक्तपुरको डोलेश्वरमा काउन्सिलद्वारा आयोजित कार्यक्रमको उद्‌घाटनमै सबै सहभागीले समाचार सम्प्रेषण गर्दा पत्रकार आचार संहिताको पूर्ण पालना गर्ने र गराउने सामूहिक प्रतिबद्धता व्यक्त गरेका हुन् ।

'पत्रकार आचारसंहिताको पूर्ण पालना गर्न र गराउन हामी प्रतिबद्ध छौं', उद्‌घाटनका क्रममा सहभागी सबै पत्रकारहरूले भने ।

प्रेस काउन्सिल नेपालको आयोजना तथा नेपाल पत्रकार महासंघ भक्तपुरको समन्वयमा भएको युट्युब, अनलाइनसहित पत्रकारिताका चुनौती र आचारसंहिताका सवाल कार्यक्रममा सहभागी भएका विभिन्न सञ्चार माध्यमका सम्पादक, पत्रकार तथा सञ्चारकर्मीहरूले यस्तो प्रतिबद्धता जनाए ।

कार्यक्रममा प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले समाचार सम्प्रेषण गर्ने क्रममा पत्रकारलाई गल्ती गर्ने छुट नभएको बताए ।

'पत्रकारलाई गल्ती गर्ने छुट छैन, मानवीय त्रुटीले कहिलेकाहीँ हुने गल्ती तत्काल सच्याउनु पर्छ, सच्याउने तत्परता हुनु पर्छ, गल्ती गरेको छ, छैन, त्यसको अनुगमन र नियमन काउन्सिलले नियमित गरिरहेको छ', अध्यक्ष बस्नेतले भने ।

पछिल्लो समयमा छापा माध्यमले पनि युट्युब, अनलाइनमा जानु परेको उनले बताए ।

अहिलेको समयमा डिजिटल मिडियाको प्लेटफर्म प्रयोग नगरी धर नभएको बताउँदै उनले जुनसुकै मिडियाले पनि अनिवार्य रूपमा आचारसंहिताको पालना गर्नुपर्ने बताए ।

राज्यले देशभर मिडिया साक्षरता चलाउनु पर्नेमा जोड दिँदै अध्यक्ष बस्नेतले भने, 'डिजिटल साक्षरता अभियान राज्यले देशभर चलाउनु आवश्यक छ, यसका लागि राज्यले बजेट छुट्याउनु पर्छ, सीमित श्रोत र साधनले प्रेस काउन्सिलले देशभर मिडिया साक्षरता अभियान चलाएका छौं, यसका लागि राज्यले पनि सहयोग गर्नुपर्छ, प्रदेश र स्थानीय सरकारले पनि यस्तो अभियानलाई साथ र सहयोग दिएर अगाडि बढाउनु पर्छ ।'

नागरिकले चलाउने सामाजिक सञ्जाल र पत्रकारले चलाउने मिडियाको फरक के हो भन्ने छुट्याउन सक्नु पर्ने उनले बताए ।

salt training

कमेन्ट गर्नुहोस्