
नेकपा (एकीकृत समाजवादी) पार्टीको राष्ट्रिय महाधिवेशनमा पेस हुने प्रतिवेदनमाथि केन्द्रीय कमिटीको बैठकमा छलफल गरिएको छ ।
पार्टीको केन्द्रीय कमिटी बैठक ललितपुरको बालकुमारीमा बसेको थियो । बैठकमा अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन, नेता झलनाथ खनालले पार्टीको समाजवादी कार्यक्रम, उपाध्यक्ष बेदुराम भुसालले विधान संशोधन र महासचिव घनश्याम भुसालले प्रस्तुत गरेको साङ्गठानिक प्रतिवेदनमा सामुहिक छलफल गर्न १२ समूह बनाइएको पोलिटब्युरो सदस्य दिलु पन्तले जानकारी दिइन् ।
पार्टीका नेता साध्यबहादुर भण्डारीले पेस गर्नुभएको पूरक प्रतिवेदनमा राष्ट्रियता, नागरिकता वितरण प्रणालीमा कडाइ गर्नुपर्ने माग गरिएको छ ।
राजनीतिक प्रतिवेदनमा राष्ट्रिय एकता, सामाजिक सांस्कृतिक पक्ष, समसामयिक विषयवस्तु उल्लेख गरिएका छन् । देशका समस्त वामपन्थी, प्रगतिशील, देशभक्त, लोकतान्त्रिक शक्तिबीचको सहकार्यलाई जोड दिइएको छ ।
समाजवादी कार्यक्रमसम्बन्धी प्रतिवेदनमा समाजवादको स्वरुप, आर्थिक रुपान्तरणका साथै वैज्ञानिक समाजवादका विषय छन् ।
विधान दस्तावेजमा पार्टीमा तल्लो तहदेखि माथिल्लो तहसम्म निर्वाचित हुनुपर्ने, सबै कमिटीलाई लोकतान्त्रिक पद्धतिबाट अनुमोदित गराउने विशेषता छ । कायम रहेको ७० वर्षीय उमेर हद हटाउने भनिएको छ ।
साङ्गठनिक दस्तावेजमा देशभर पार्टीको सङ्गठनको अवस्था, आगामी योजना तथा कार्यक्रम, सशक्त सङ्गठन निर्माणका विधि, महाधिवेशन केन्द्रित अभियान उल्लेख गरिएका छन् ।
समूहगत छलफलबाट आएका निष्कर्षलाई टोली नेताले प्रस्तुत गरेपछि प्रतिवेदनमा समावेश गरी त्यसलाई अन्तिम रुप दिइने केन्द्रीय सदस्य मोहन गौतमले जानकारी दिए ।
पार्टीले आगामी असारमा काठमाडौँमा महाधिवेशनको तयारी गरेको छ । यस विषयमा पनि केन्द्रीय कमिटी बैठकमा भोलि छलफल गरिने छ । नेता गौतमका अनुसार बैठक बुधबार ११ बजे पुनः बस्ने गरी स्थगित गरिएको छ ।