
बलात्कारको मुद्दामा उच्च अदालत पाटनबाट सफाइ पाएसँगै क्रिकेटर सन्दीप लामिछानेले विश्वकप खेल्ने बाटो खुलेको छ ।
आगामी जुन १ तारिखदेखि अमेरिका र वेस्ट इन्डिजमा हुन गइरहेको टी–२० क्रिकेट विश्वकपमा उनले खेल्ने बाटो खुलेको हो ।
टी–२० विश्वकप खेल्नका लागि नेपालले १५ सदस्यीय टोलीको नाम दिइसकेको छ । अब मे २५ सम्ममा थपघट गर्न पाइने प्रावधान छ ।
नेपाल क्रिकेट संघ (क्यान)ले निलम्बन फुकुवा गर्दै सन्दीपको नाम दिएमा उनले विश्वकप खेल्न पाउनेछन् । अहिले नेपाली टोली अमेरिका छ । त्यहाँ अभ्यास खेल खेलिरहेको छ ।
सन्दीपले बलात्कार मुद्दामा उच्च अदालत पाटनबाट बुधबार सफाइ पाएका हुन् । उच्च अदालतका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीले बुधबार उनलाई सफाइ दिएका हुन् ।
बलात्कारको आरोप लगाएकी गौशाला २६ र सन्दीपका वकिलले मंगलबारदेखि बहस गरेका थिए । दुवैतर्फको बहस सुनेपछि न्यायाधीशद्वयले सन्दीपलाई सफाइ दिएका हुन् ।
२०८९ को भदौमा एक किशोरीले सन्दीपलाई बलात्कारको आरोप लगाएकी थिइन् । जिल्ला अदालत काठमाडौंले सन्दीपलाई ८ वर्षको कैदको फैसला सुनाएको थियो । यसपछि उनी पुनरावेदनका लागि उच्च अदालत गएका हुन् ।
भदौ २१ गते पीडित भनिएकी गौशाला २६ ले सन्दीपले आफूलाई जबर्जस्ती करणी गरेको भनी प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् । उजुरी दिएको बेला सन्दीप वेस्ट इन्डिजमा क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेलिरहेका थिए । सोही क्रममा २०७९ भदौ २३ गते क्यानले उनलाई राष्ट्रिय क्रिकेट टोलीबाट निलम्बन गरेको थियो । निलम्बन गर्ने बेलासम्म उनी नेपाली क्रिकेट टोलीको कप्तान नै थिए ।
२०७९ असोज २० गते उनी विदेशबाट फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले २०७९ कातिक १४ गते सन्दीपलाई प्रतिवादी बनाएर काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । जिल्ला अदालतले उनलाई थुनामा राखी मुद्दाको पुर्पक्ष गर्ने आदेश गरेको थियो । उक्त आदेशपछि उनी कारागार चलान भएका थिए ।
जिल्ला अदालतको उक्त आदेशविरुद्ध उच्च अदालत पाटन पुगेका लामिछानेलाई २०७९ पुष २८ गते २० लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश भएअनुसार उनी कारागारबाट छुटेका थिए । रिहा भएपछि क्यानले २०७९ माघ १८ गते अनुशासन उल्लङ्घनको कारबाहीमा सन्दीपलाई गरिएको निलम्बन फुकुवा गरेको थियो ।
उच्च अदालत पाटनले भने उनलाई विदेश जान रोक लगाएको हुनाले ‘विदेश जान अनुमति पाऊँ’ भन्दै उनी सर्वोच्च अदालत पुगेका थिए । २०८० चैत फागुन १६ गते सर्वोच्चले उनलाई क्रिकेट खेल्नका लागि अनुमति दिने आदेश गरेको थियो । त्यसपछि २०८० पुष २५ गते काठमाडौं जिल्ला अदालतले उनलाई ८ वर्ष कैदको सजाय सुनाएको थियो । साथै पीडितलाई ५ लाख रुपैयाँ क्षतिपूर्ति भराउने आदेशसमेत गरिएको थियो । उच्च अदालतले यो फैसला उल्टाएको हो ।
गत वर्षको पुसदेखि सन्दीप क्रिकेट क्रियाकलापबाट बाहिर छन् ।