
क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाएपछि समर्थकको भीडले उच्च अदालत पाटन परिसरमा खुशी साटी रहँदा पुल्चोक क्षेत्र आसपास सडकको ट्राफिक अस्तव्यस्त बनेको छ ।
समर्थकहरूले सडकमा सन्दीपको पक्षमा नाराबाजी गरेका थिए ।
उनीहरूले न्याय मरेको छैन, सन्दीप हाइहाइ, जीत कस्को सन्दीपको भन्दै एक आपसमा खुशी साटासाट गरेका थिए ।
बाजागाजा र झाँकीसहित पुगेका समर्थकको भीडलाई थेग्न प्रहरीलाई हम्मेहम्मे परेको छ ।
समर्थकको भीडले सन्दीपले फेरि एक पटक विश्वसामु नेपाललाई चिनाउने भन्दै नारा लगाएका थिए ।
सयौंको संख्यामा समर्थकहरूले सन्दीपको फोटो अंकित ब्यानर र प्लेकार्डसँगै नेपाली झण्डासमेत लगाएर सन्दीपको पक्षमा नाराबाजी गरेका थिए ।