
भक्तपुरको ठुलोवेशीमा बुधबार गरिएको विशेष चेकिङका क्रममा यान्त्रिक अवस्था ठिक नभएका ५३ वटा सवारी साधनका चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ ।
८० भन्दाबढी सवारी साधन चेक गर्दा हेण्डब्रेक नभएका, लाइटहरू दुरुस्त नभएका, टायर धेरै घिस्रिएका लगायत अवस्था ठिक नभएका ५३ वटा सवारी साधन फेला परेपछि चालकलाई कारबाही गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक जीवन कुमार श्रेष्ठले जानकारी दिए ।
अवस्था ठिक नभएका सवारी साधन चलाउँदा सवारी दुर्घटनाको सम्भावना रहने र त्यसबाट यात्रु तथा सडक प्रयोगकर्ताको जीवन जोखिममा पर्न सक्ने भएकाले सम्भावित जोखिम कम गर्नको लागि सवारी साधनको अवस्था चेकजाँच गर्न काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट ट्राफिक प्रहरीको टोली भक्तपुरको टुरिष्ठ वसपार्क नजिकै ठुलोवेशी क्षेत्रमा आज खटिएको उनको भनाइ छ
सवारी साधन मर्मत पश्चात तोकिएको जरिवाना तिरी ट्राफिक प्रहरीद्वारा नियन्त्रणमा लिएका कागजपत्र फिर्ता दिइने उनले बताए ।