२५ जेठ २०८३, सोमबार

सशस्त्रले दुई महिनामै समात्यो ५२ किलो सुन

जेठ २, २०८१
काठमाडौं
सशस्त्रले दुई महिनामै समात्यो ५२ किलो सुन

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खटिएको सशस्त्र प्रहरी बल नेपालको टोलीले दुई महिनाको अवधिमा ५२ किलो भन्दा बढी सुन बरामद गरेको छ । 

२०८० चैत र २०८१ वैशाख महिनामा विमानस्थलबाट ६ करोड ८७ लाख ७८ हजार ७३५ बराबरको ५२.७२९ किलो सुन बरामद गरी सशस्त्र प्रहरीले भन्सार दाखिला गरेको हो । उक्त अवधिमा अवैध सुन ओसारपसार गर्ने २२ जनालाई पक्राउ गरिएको सशस्त्रले जनाएको छ ।

सशस्त्र प्रहरीले चैत र वैशाखमा विशेष सूचनाको आधारमा अवैध ओसार–पसारमा संलग्न १७ वटा ठूला र १५ वटा साना गरी ३२ वटा सवारी साधन नियन्त्रणमा लिइ राजस्व अनुसन्धान विभाग र कार्यालयहरूमा पठाएको छ । सोही अवधिमा राजस्व अनुसन्धान विभाग र मातहतका कार्यालयसँगको समन्वयमा संयुक्त रुपमा ९२ वटा ठूला र ५५ वटा साना गरी १४७ वटा सवारीसाधन नियन्त्रणमा लिइ राजस्व अनुसन्धान विभाग–कार्यालयहरूमा पठाएको सशस्त्र प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरीले चैतमा १२ करोड ७२ लाख एक हजार २१२ र वैशाख महिनामा १४ करोड ६० लाख २४ हजार ८८ रुपैयाँ बराबरको ९ अवैध रुपमा आयात निर्यात भएको र बिल बिजक नभएको सामान जफत गरी भन्सार तथा राजस्व अनुसन्धान कार्यालयहरूमा दाखिला गरेको छ । चैतमा ११ करोड १८ लाख ३० हजार २६१ रुपैयाँ र वैशाखमा १३ करोड ८१ लाख ८९ हजार ९३१ रुपैयाँ गरी २५ करोड २० हजार १९२ बराबरको दाखिला गरेको छ ।

वैशाखमा भन्सार तथा राजस्व अनुसन्धान कार्यालयहरूमा बुझाइएको सामानको दाखिला मूल्य २७ करोड ३२ लाख २५ हजार ३०० रहेको छ । जुन गत वर्षको सोही अवधिको भन्दा ९.२८ प्रतिशतले बढी हो । चैत महिनाको तुलनामा वैशाखमा भन्सार तथा राजस्व अनुसन्धान कार्यालयमा दाखिला गरिएको सामानको मूल्य १४.७९ प्रतिशत बढी हो ।

चैत र वैशाखमा ३४ करोड २० लाख ४ हजार ३५ रुपैयाँ बराबरको सामान भन्सार–राजस्व अनुसन्धान कार्यालयमा सशस्त्र प्रहरीले दाखिला गरेको छ । यो रकम गत वर्षको सोही अवधिको तुलनामा ३६.७९ प्रतिशतले बढी हो ।

चैतमा कूल ४० करोड ६६ लाख १० हजार ७३ रुपैयाँ बराबरको राजस्व दाखिला भएको छ । यस्तै वैशाखमा कूल ५२ करोड ९७ लाख ७ हजार २५३ रुपैयाँ बराबरको गरी उक्त अवधिमा कुल ९३ करोड ६३ लाख १७ हजार ३२६ रुपैयाँ बराबरको राजस्व रकम दाखिला भएको छ । अवैध मालसामान बरामद चोरी, पैठारी तथा अवैध सुन, चाँदी, मालसामान, नदीजन्य पदार्थ, अवैध काठ बरामद, अवैध मुद्रा, हुन्डी कारोबार, ट्राफिक जरिवाना, फैसला कार्यान्वयन लगायतबाट राजस्व संकलन भएको हो ।

तीमध्ये अवैध मालसामान ओसार–पसार गर्ने ८९ जना मानिस पक्राउ गरिएको र सोबापत ३४ करोड ६९ लाख ८९ हजार ५३१ रुपैयाँ बराबरको सामान भन्सार–राजश्व अनुसन्धान विभागमा बुझाइएको सशस्त्र प्रहरी बलले जनाएको छ । ट्राफिक जरिवाना बापत ३० करोड ५६ लाख ४६ हजार ९५६ रुपैयाँ राजस्व खातामा दाखिला भएको छ ।

प्रहरीले अवैध सुन ओसार–पसार गर्ने २२ जनालाई पक्राउ गरेको र ती मानिसको साथमा रहेको ११ करोड ५५ लाख ६० हजार २९० रुपैयाँ बराबरको सुन भन्सार र अदालतमा दाखिला गरेको छ । अदालतको फैसला कार्यान्वयनका लागि एक हजार ५१९ जना मानिस पक्राउ गरिएको र सोबापत नौ करोड ४९ लाख ७० हजार ८६२ रुपैयाँ राजस्व संकलन भएको छ ।

चैत र वैशाखमा गैरकानूनी कार्यमा संलग्न एक हजार ८१८ जना कानूनी दायरामा ल्याइएको सशस्त्र प्रहरीले जनाएको छ । गत आर्थिक वर्षको चैत र वैशाख महिनामा कूल ७९ करोड ११ लाख ६० हजार ३३२ रुपैयाँ बराबर राजस्व दाखिला भएकोमा यो आवको चैत र वैशाखमा दाखिला भएको कूल ९३ करोड ६३ लाख १७ हजार ३२६ रुपैयाँ बराबरको राजस्व दाखिला भएको छ । यसबाट अघिल्लो आवको सोही अवधिको तुलनामा यस आवको सोही अवधिमा १८.३५ प्रतिशतले राजस्वमा वृद्धि भएको छ । चैतको तुलनामा वैशाख महिनामा ३०.२ प्रतिशतले राजस्वमा वृद्धि भएको हो ।

राजस्व चुहावट र सीमा अपराध नियन्त्रणका विषयमा उद्योगी व्यवसायीसँग मोरङ र पर्सामा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरेको छ । सीमा इलाकामा अवैध रुपमा भण्डारण गरी राखिएका गोदामहरूको खोज–तलास गरी आधिकारिक निकायसँगको समन्वयमा छापा हानी अवैध सामान नियन्त्रणमा लिएर सम्बन्धित निकायमा बुझाएको सशस्त्रले जनाएको छ । ‘पछिल्लो दुई महिनाको अवधिमा पाँच स्थान छापा हानी अवैध सामानहरू बरामद गरेको छ । योसँगै गत वर्ष १३ स्थानमा छापा हानेको छ,’ सशस्त्रले जारी गरेको प्रेस नोटमा उल्लेख छ ।

साथै सशस्त्र प्रहरीले सीमा सुरक्षा, अवैध निकासी पैठारी नियन्त्रण तथा सीमा अपराध नियन्त्रणका लागि भारतसँग सिमाना जोडिएका तराईका जिल्लाहरूमा चौबीसै घण्टा गस्ती गर्ने गरेको छ । अवैध चोरी तस्करी हुने मुख्य नाकाहरूमा पिकेटरगस्ती चौबीसै घण्टा खटाउनुका साथै सीमा अपराध नियन्त्रण तथा अवैध निकासी पैठारी नियन्त्रणका लागि सीमावासीहरूसँग अन्तरक्रिया कार्यक्रम सञ्चालनसमेत गरेको छ । सीमा जोडिएका जिल्लाहरूमा खटिएका कमान्डरहरूलाई प्रधान कार्यालयमा झिकाई सशस्त्र प्रहरीले चुहावट नियन्त्रणका लागि आवश्यक निर्देशन पनि दिएको छ ।

यसअघि सरकारका सुरक्षा निकायहरूबीचमै समन्वय नहुँदा राजस्व घटेको भन्दै गृहसचिव एकनारायण अर्यालले राजस्व वृद्धि गर्ने तर्फ ध्यान दिन निर्देशन दिएका थिए । 


 

salt training

कमेन्ट गर्नुहोस्