०८ साउन २०८३, शुक्रबार
लागुऔषध तस्करी

२ हजार डलरका लागि कोकिनका ९० क्याप्सुल निलेर ‘युगान्डा टु नेपाल’ !

जेठ ३, २०८१
काठमाडौं
२ हजार डलरका लागि कोकिनका ९० क्याप्सुल निलेर ‘युगान्डा टु नेपाल’ !

वैशाख ३० गते कतार एयरलाइन्सबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएकी युगान्डाकी केभिना मुगालाको हाउभाउ सहज नदेखेपछि प्रहरीलाई शंका लाग्यो ।

अफ्रिकन मुलुकबाट पर्यटक भिसामा आएकी मुगालासँग प्रहरीले सोधपुछ गरे । उनले नेपाल घुम्न आएको जवाफ दिइन् । प्रहरीले थप प्रश्न गरे, तपाईं कहाँ–कहाँ घुम्नुहुन्छ ? कति दिनको बसाइ छ ?’ जवाफ दिने क्रममा मुगाला अक्मकिइन् । 

यस्तै व्यक्तिहरू अफ्रिकन मुलुकबाट लागुऔषध बोकेर आउने गरेको ‘ट्र्याक रेकर्ड’ प्रहरीसँग थियो ।​

मुगालाका सम्बन्धमा शंका लागेपछि लागुऔषध नियन्त्रण ब्यूरो (एनसीबी) ले प्रहरी अस्पताल महाराजगञ्ज पुर्‍यायो । पेटको एक्स–रे गर्दा क्याप्सुल आकारका वस्तुहरू देखियो । थप केरकारपछि मुगालाले कोकिन ल्याएको स्वीकार गरिन् ।

मुगालालाई पखाला लाग्ने औषधि दिइयो । ४८ घण्टाको उपचारपछि मुगालाको पेटभित्र रहेको ९० वटा क्याप्सुल आकारको कोकिन निकालियो । प्रहरीले धोइपखाली मापन गर्दा १ किलो २ सय ६० ग्राम कोकिन रहेको देखियो । 

सामान्य कृषक परिवारकी मुगाला २ हजार अमेरिकन डलर पाउने लोभमा जोखिम मोलेर पेटभित्र कोकिन राखी नेपाल आएकी थिइन् ।

null

प्लाष्टिकमा र्‍याप गरेर क्याप्सुल बनाई त्यसलाई निलेर झण्डै ५ हजार ३ सय १० किलोमिटर जोखिमयुक्त हवाई यात्रा पार गरेकी ४४ वर्षीया मुगालाको बाँकी २० वर्षभन्दा बढी जीवन अब नेपालको जेलमै बित्ने प्रहरी अधिकारीहरू बताउँछन् । 

एनसीबीले मुगालासँगै आएकी युगान्डाकी महिला लिलियन सुसान वान्येन्जेको पछाडि पनि सुराकी छाडेको थियो । एकै एयरलाइन्समार्फत युगान्डाबाट इथियोपिया, इथियोपियाबाट कतार र कतारबाट काठमाडौं ओर्लिएकी लिलियन ठमेलस्थित एक होटलमा बस्दै आएकी थिइन् ।

प्रहरीले मंगलबार होटलमै पुगेर लिलियनलाई पक्राउ गर्‍यो । उनले स्निकिर चोकलेटको खोलमा कोकिन पोको पारेर ल्याएकी थिइन् । अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार विमानस्थलमा सीसीटीभी फुटेजमा हेर्दा लिलियन निर्धक्कसँग बाहिरिएको देखिन्छ । 

null

एनसीबीका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) गोविन्द थपलियाका अनुसार लिलियन पक्राउ पर्दा धेरै डराएकी थिइन् । उनले परिवार सम्झँदै भनेकी थिइन्, ‘मलाई छाडिदिनुस्, यो कोकिन कसलाई बुझाउने हो, म सूचना दिन्छु ।

प्रहरीले पनि कोकिन रिसिभ गर्न आउने व्यक्ति पत्ता लगाउन चलाखी अपनायो । लिलियनसँग भएको मोबाइलको ह्वाट्सएपमा भारतीय महिला देवाञ्जनी पालसँग सम्पर्क रहेको देखियो । तर, दुवैले एक अर्कालाई चिन्दैन थिए । पाललाई होटलसम्म ल्याउन प्रहरीले धेरै चलाखी अपनायो । जब पाल आइन्, तब पक्राउ गरियो ।

तीनै जनाको मोबाइल हेर्दा मुगाला र लिलियनसँग इथियोपियाका मुख्य तस्करको सम्पर्क देखिएको छ । 

भारतीय एजेन्टको सम्पर्क पालसँग देखिए पनि छद्म नाममा कुराकानी गरेको आशंका छ ।

‘यी तीनै जना भरिया मात्रै हुन्, कोकिन कारोबारीले नेपाललाई ट्रान्जिट बनाएको देखिन्छ,’ एसएसपी थपलियाले भने, ‘हाम्रो विमानस्थलमा प्यासेन्जर स्क्रिनिङ गर्दा मुगालाको शंकास्पद व्यवहारले कोकिन बरामद गर्न सक्यौं ।’ 

भारतीय महिला पाल ३० हजार भारु पाउने लोभमा कोकिन लिन दिल्लीदेखि काठमाडौं आएकी थिइन् । थपलियाकाअनुसार बरामद कोकिनको अन्तर्राष्ट्रिय अवैध बजार मूल्य ७ करोड ९६ लाख रुपैयाँ हुन आउने देखिन्छ । 

null

५ वर्षमा ४० किलो कोकिन बरामद

एनसीबीले विगत ५ वर्षयता नेपाललाई ट्रान्जिट बनाएर ल्याएको ४० किलो कोकिन बरामद गरेको छ । 

यसअघि आर्थिक वर्ष २०७६/०७७ मा १५ किलो, २०७७/०७८ मा १ किलो, २०७८/०७९ मा २ किलो, २०७९/०८० मा १५ किलो र २०८०/०८१ को जेठ २ गतेसम्म ७ किलो कोकिन बरामद गरेको एनसीबी प्रमुख थपलियाले बताए ।

पक्राउ परेका अधिकांश अफ्रिकन मुलुकका नागरिक छन् । 

null

अधिकांशलाई मुख्य कारोबारीले भरियाको रूपमा नेपाल पठाएको प्रहरी अभिलेख छ । प्रहरीका अनुसार बोलिभिया, पेरु, ब्राजिल, इथियोपियाबाट कोकिन यूएई, कतार हुँदै नेपाल ल्याउने गरेको पाइएको छ ।

प्रहरी अनुसन्धानमा खुलेअनुसार कोकिन उत्पादन गर्ने कोकाको बिरुवा दक्षिण अमेरिकाको पहाडी र जंगली क्षेत्रमा पाइन्छ ।

मुख्यतया पेरु, कोलम्बिया, बोलिभिया र चिलीको दक्षिणी भेगमा अवैध ढंगले कोका उत्पादन हुने गरेको छ । कोकाको पातलाई रासायनिक प्रशोधनद्वारा कोकिन तयार पारिन्छ । 

१ ग्रामको २५ देखि ३० हजार 

कोकिनको अवैध बजार मूल्य नेपालमा १ ग्रामको २५ देखि ३० हजार रुपैयाँ पर्ने गरेको प्रहरीले जनाएको छ । यो ज्यादै महंगो हुने हुँदा ‘एलिट’ वर्गले मात्रै सेवन गर्छन् । 

खैरो हेरोइन भारतमै उत्पादन हुने हुँदा त्यहाँका कारोबारीले दक्षिणी अमेरिकाका विभिन्न स्थानबाट कोकिन नेपालको बाटो हुँदै मगाउँछन् । 

‘हामीले सूचना पाउँदा वा यात्रु स्क्रिनिङ गर्दा फेला पर्‍यो भने नत्र यसका कारोबारीले उम्काउने भए,’ थपलियाले भने, ‘विमानस्थलको अराइभलमा प्रहरीको उपस्थिति नहुँदा समस्या छ । भर्खरै सशस्त्र प्रहरी बस्न थालेको छ । प्रहरी पनि त्यहाँ हुनुपर्छ भन्ने हो ।’

salt training

कमेन्ट गर्नुहोस्