
नेपाली कांग्रेसले संसदीय दल र कार्यसमितिको बैठक बोलाएको छ । सहकारी ठगीमा छानबिन समिति गठनको विषय पेचिलो बन्दै गएपछि कांग्रेसले शुक्रबार बिहान साढे ८ बजे संसद् भवन परिसरमा बस्ने गरी दलकाे कार्यसमिति र ९ बजे दलको बैठक बोलाएको हो ।
कांग्रेसको अवरोधका बीच बिहीबार सदनमा सभामुख उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई बोल्न दिएपछि प्रतिनिधिसभा बैठकमा मुठभेडको स्थिति आएको थियो । यसैले बैठक शुक्रबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको हो । तर कांग्रेसले त्यसअघि नै पार्टीको बैठक बोलाएको छ ।
कांग्रेसले एक महिनाको बीचमा चारपटक संसदीय दलबाट औपचारिक निर्णय गर्दै सहकारी ठगी प्रकरणमा संलग्न रहेको भन्दै गृहमन्त्री लामिछानेमाथि छानबिनको लागि संसदीय समिति गठनको माग गर्दै आएको छ ।
पत्रकार सम्मेलन गर्दै कांग्रेस महामन्त्री एवं सांसद गगन थापाले आफूहरू पैसा कसले चोरी गर्यो भन्नेको छानबिन गर्न माग गर्दै आएपनि सरकारले संसारभर कसरी चोरी हुन्छ भन्नेतिर लागेको बताए ।
‘हामी भन्छौं सहकारीमा नागरिकको पैसा कसले चोरी गर्यो छानबिन गरौं भन्छौं,’ थापाले भने, ‘सरकार भन्छ– चोरी नेपाल, भारत जहाँ पनि हुन्छ । छानबिन समिति संसारभर चोरी किन हुन्छ भनेर खोजौं । तर हामीले यस्तो खोजेका होइनौं ।’