
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
प्रतिनिधिसभाको बैठकमा गृहमन्त्री रवि लामिछनेलाई बोल्न दिने तयारीबाट नेपाली कांग्रेस अस्वाभाविक रूपमा भड्किन पुगेको छ । बिहीबार बिहान ११ बजेलाई बोलाइएको प्रतिनिधिसभा बैठक दलबिच सहमति जुटाउने भन्दै अपराह्न ४ बजेलाई सारियो ।
दिनभरको कसरतपछि पनि सहमति नजुट्दै ६ बजे प्रतिनिधिसभाको बैठक सुरु भयो । तर कांग्रेसको विरोधबिच सभामुख देवराज घिमिरेले गृहमन्त्री लामिछानेलाई बोल्न दिएपछि बैठकमा धकेलाधकेलको स्थिति देखियो । धकेलाधकेल हातहालाहालतर्फ गएपछि सभामुखले पुनः गृहमन्त्रीलाई आसन ग्रहण गर्न र कार्यसूची स्थगित भएको बताएपछि स्थिति साम्य भएको थियो ।
जेठ १ गते राष्ट्रपतिबाट सरकारको नीति तथा कार्यक्रम संसद्को संयुक्त बैठकमा पेस भएको थियो । तर यो टेबल हुने र राष्ट्रपतिलाई धन्यवाद ज्ञापन गर्ने विषयसमेत रोकिएको थियो । यसैले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सभामुख देवराज घिमिरेले बिहीबार दिनभर गरेका प्रयत्न पनि खेर गएका हुन् ।
संसदको बिहीबारको दृश्यसँगै प्रतिनिधिसभाको माहोल थप गिजोलिन पुगेको छ भने सत्तापक्ष र प्रतिपक्षकै नेताहरु आपसमा आरोप–प्रत्यारोपमा उत्रिन थालेका छन् । दलहरुबीच कुनै छलफलसमेत नभएकाले यही अवस्थामा शुक्रबार पुनः बस्ने बैठकमा पनि अवरोध कायमै रहने देखिएको छ ।
बिहीबारको तनावपछि नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको जवाफ माग गरेको छ । सत्तापक्षले योजनाबद्ध रुपमा संसदमा मुठभेड निम्त्याएको कांग्रेस महामन्त्री गगन थापाले आरोप लगाए ।
बिहीवार प्रतिनिधिसभा बैठकमा झडपको स्थिति सिर्जना भएपछि संसद् भवन परिसरमै पत्रकार सम्मेलन गरेर महामन्त्री थापाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले योजनाबद्ध रूपमा संसदमा अप्रिय स्थिति सिर्जना गरेको बताएका हुन् ।
यसैबीच नेपाली कांग्रेसले संसदीय दल र कार्यसमितिको बैठक बोलाएको छ । सहकारी ठगीमा छानबिन समिति गठनको विषय पेचिलो बन्दै गएपछि कांग्रेसले शुक्रबार बिहान साढे ८ बजे संसद् भवन परिसरमा बस्ने गरी दलको कार्यसमिति र ९ बजे दलको बैठक बोलाएको हो ।
००००
यस्तै बिहीबारको तनापछि नेकपा एमालेले भने कांग्रेस सांसदहरूले आफ्नो पार्टीका अध्यक्ष केपी शर्मा ओलीमाथि आक्रमण गर्न खोजेको आरोप लगाएको छ । कांग्रेसले संसदभित्र असभ्य व्यवहार दर्साएको उनीहरूले आरोप लगाए ।
बिहीवार बसेको प्रतिनिधिसभा बैठकमा गृहमन्त्री रोष्ट्रमतर्फ जान लागेपछि ओली उठेका थिए । त्यसपछि कांग्रेस उपसभापति धनराज गुरुङ ओलीसँग झोक्किएका थिए ।
बैठकपछि एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले कांग्रेसले संसद्मा अराजकता मच्चाउन खोजेको आरोप लगाए ।
००००
यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनीष झाले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उनकी पत्नी आरजु र छोरा जयवीरसिंहको सम्पत्ति छानबिन नभएसम्म सहकारीका विषयमा छानबिन समिति बन्न नसक्ने उद्घोष गरेका छन् ।
बिहीबार कांग्रेसका कारण प्रतिनिधिसभाको बैठक अवरुद्ध भएपछि संसद् भवनबाट बाहिरिँदै पार्टीका सहायक प्रवक्तासमेत रहेका झाले यस्तो चेतावनी दिएका हुन् ।
००००
सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिनको माग गर्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले बिहीबार पनि राष्ट्रियसभा बैठक अवरुद्ध पारेको छ ।
दिउँसो बसेको बैठकमा कांग्रेस सांसदहरूले उठेर विरोध जनाएपछि राष्ट्रियसभा अध्यक्ष नारायण दाहालले शुक्रबार दिउँसो १ बजेर १५ मिनेटमा बस्नेगरी बैठक स्थगन गरे ।
००००
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापतिसमेत रहेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले एकपटक संसद्मा बोल्न पाउनुपर्छ भन्दा मिडियामा घिनलाग्दो ट्रायल भएको आरोप लगाएका छन् ।
सहकारी प्रकरणलाई लिएर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले फेरि संसद् अवरुद्ध गर्ने संकेत गरेपछि गृहमन्त्री लामिछानेले यस्तो आरोप लगाएका हुन् ।
००००
गत चैत २९ गतेबाट नेपाली सेनाको अगुवाइमा सञ्चालन भइरहेको सफा हिमाल अभियानमा सहभागी टोलीले सगरमाथाको क्याम्प ४ बाट एक र ल्होत्से हिमालको शिखर नजिकबाट एक जनाको शव निकालेको छ ।
००००
कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले सरकारी निवास नछोडेपछि मुख्यमन्त्री नयाँ हिक्मतकुमार कार्की समस्यामा परेका छन् । हिक्मत सधैँ बसिरहेकै भाडाको घरमै बसिरहेका छन् ।
मुख्यमन्त्रीहरूलाई भनेर काठमाडौंमा समेत संघीय सरकारले आवासको व्यवस्थापन गरेको छ । तर केदारले त्यहाँका चाबीसमेत नबुझाएपछि मुख्यमन्त्री हिक्मतले काठमाडौं जाँदासमेत सरकारी निवासमा बस्न नपाएको गुनासो उनी पक्षको छ ।
००००
सर्वोच्च अदालतले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दीर्घ सोडारीको नियुक्तिविरुद्धको रिट निवेदन खारेज गरेको छ ।
न्यायाधीशहरू प्रकाशकुमार ढुङ्गाना, कुमार चुडाल र सुनीलकुमार पोखरेलको पूर्ण इजलासले बिहीबार निर्देशनात्मक आदेश गर्दै रिट निवेदन खारेज हुने फैसला सुनाएको हो ।
००००
सरकारले दुई सहसचिवलाई सचिवमा बढुवा गरेको छ । सिंहदरबारमा बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले मधेश प्रदेशका कामु सचिव लोकनाथ पौड्याललाई सचिवमा बढुवा हो ।
त्यस्तै, मन्त्रिपरिषद्ले कृषि तथा वन समूहबाट राजेन्द्रप्रसाद मिश्र सचिवमा बढुवा गरेको जानकारी सरकारकी प्रवक्तासमेत रहेकी सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले दिइन् ।
००००
नेपाली कांग्रेस र नागरिक उन्मुक्ति पार्टी (नाउपा)का सांसदहरूको अवरोधका बीच सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत पाएका छन् ।
बिहीबार बसेको प्रदेशसभा बैठकमा कांग्रेससँगै नागरिक नाउपाको रेशम चौधरी समूहका सांसदहरूले नाराबाजी र बहिष्कार गरे पनि विश्वासको मत लिने प्रस्ताव पेस भएको थियो ।
००००
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गिरिबन्धु टी–स्टेटको जग्गा एमाले अध्यक्ष केपी शर्मा ओलीकै पालमा बिक्री भएको बताएका छन् ।
बिहीबार प्रजातान्त्रिक विचार समाजको कार्यक्रममा बोल्दै देउवाले आफूले निर्णय गरेको विषय कांग्रेसमा कांग्रेसलाई दोष नदिन पनि ओलीलाई आग्रह गरे ।
००००
साढे दुई किलो कोकिनसहित तीन जनालाई विदेशी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दुई जना युगाण्डा र एक जना भारतीय नागरिक छन् ।
००००
नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको ३१ औँ स्मृति दिवस बिहीबार मनाइएको छ । जनतालाई जागृत हुन उनीहरूले गरेको योगदानको स्मरण गर्दै स्मृति दिवस मनाइएको हो ।