
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका सचेतक ज्ञानेन्द्र शाहीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली फेरि प्रतिनिधि सभा विघटनको लाइनमा रहेको आरोप लगाएका छन् ।
ओली विगतमा आफूले गरेको विघटन सही थियो भनेर प्रमाणित गर्न लागेको उनले दाबी गरे ।
शुक्रबार संसद् भवन परिसर नयाँ बानेश्वरमा पत्रकारहरूसँग कुरा गर्दै शाहीले ओलीले विघटनको भूमिका खेलिरहेको आरोप लगाएका हुन् ।
‘विशेषगरी नेकपा एमालेका अध्यक्ष ओली संसद् विघटन गर्ने लाइनमा हुनुहुन्छ । पहिला संसद् विघटन सही हो भन्ने स्थापित गर्न खोज्नुभएको छ । उहाँलाई स्पष्ट के थाहा छ भने संसद् अवरुद्ध भएर बजेट आएन भने संसद् विघटन हुन्छ । त्यसैको भूमिका उहाँले खेलिरहनु भएको छ’, शाहीले भने ।
कांग्रेस नेता डा. शेखर कोइरालाले पनि बिहीबार यस्तै अभिव्यक्ति दिएका थिए ।