
कञ्चनपुरकी सृष्टि विष्टका मनमा बालापनदेखि नै भविष्यका बारेमा अनेक सोच आइरहन्थे । मनमा सपनाका रङ्ग फेरिरहन्थे । कुनै बेला डाक्टर बन्ने सोच्थिन् भने कहिले इन्जिनियरदेखि कलाकारसम्म । उमेरसँगै बौद्धिकता बढ्दै गएसँगै सृष्टिले विमान चालक (पाइलट) बन्ने सपना देखिन् । देखेको सपना पूरा गर्नका लागि लगनशीलताका साथ कर्ममा लागिन् । कर्मले सफलता दिलाउँछ भन्ने विश्वास उनीमा थियो । त्यही विश्वासले अहिले उनी सफलता हासिल गरिरहेकी छिन् । अर्थात् उनी पाइलट बनिसकेकी छिन् ।
भीमदत्त नगरपालिकामा जन्मिएकी सृष्टि हाल दक्षिण अफ्रिका छिन् । उनी १९ वर्षको उमेरमै निजी जहाज (प्राइभेट प्लेन)मा उडान भर्न सफल भइसकेकी छिन् । उनले धेरै पटक जहाज उडाउन र अवतरण गराउन सफल भइसकेकी छिन् । प्राइभेट प्लेन चलाउन लाइसेन्स पाइसकेकी सृष्टि कमर्सियल प्लेनको पाइलट बन्ने धेयका साथ आफ्नो कोर्स पूरा गरिरहेकी छिन् ।
पाइलट बन्ने हुटहुटी

कक्षा ६ सम्म अध्ययन गर्दासम्म सृष्टिको मनमा अनेक सपनाले झल्को दिइरहन्थे । कक्षा ८ मा पढ्ने बेलादेखि भने उनको मनमा पाइलट बन्ने सङ्कल्पसहितको सपनाले बास गर्याे । प्लेन उडेका भिडियोहरू हेर्दा उनको मनमा छुट्टै खुसीको तरङ्ग आउथ्यो । प्लेन देख्दा उनले आफूलाई त्यहाँ पाउँथिन् । ‘मभित्रको सपनाको गहिराइ निकै बढिसकेको थियो । प्लेन देख्ला, त्यसमा चढ्दा यो मेरो ठाउँ हो जस्तो लाग्थ्यो । प्लेनप्रति मेरो लगाव झन्–झन् बढ्दै गयो, ‘उनले भनिन् ।
उसो त सृष्टिले कक्षा ४ मै अध्ययन गरिरहेको बेला प्लेन चढिसकेकी थिइन् । उनका बुवा डा भूपेन्द्रसिंह विष्ट सुदूरपश्चिम विश्वविद्यालयका प्राध्यापक र आमा धनमति सरकारी विद्यालयअन्तर्गत माध्यमिक तहको शिक्षिका भएकाले उनीहरूको काठमाडौँ–धनगढी प्लेनबाट आवत–जावत भइरहन्थ्यो । जेठो सन्तानका रुपमा रहेकी सृष्टि आमा–बुवासँगै यात्रामा गइरहन्थिन् ।
एसईई सकिएपछि थप अध्ययनका लागि उनले काठमाडौं जाने निधो गरिन् । ‘मभित्र पाइलट बन्ने हुटहुटी थियो । त्यसैले पनि जतिसक्दो चाँडो सपना साकार गर्नका लागि मैले घर र ठाउँ छोड्न जरुरी थियो । काठमाडौंस्थित किट्स कलेजमा प्लस टूमा भर्ना भएँ । त्यहाँ मैले साइन्स र फिजिक्स अध्ययन गर्न थाले । पाइलट बन्दा काम लाग्ने भएकाले मैले साइन्स रोजेकी थिए,’ सृष्टि भन्छिन् ।
कोरोना भाइरस महामारीका कारण अवस्था विकराल बनेपछि धेरै समय उनले महेन्द्रनगरस्थित घरबाटै अनलाइन कक्षा लिइन् ।
सृष्टि जहाजबारेका अनेक भिडियो सामग्री हेरिरहन्थिन् । त्यही क्रममा उनले पाइलट सविन पाण्डेको पोडकास्ट भिडियो पाइन् । त्यो भिडियोले पनि उनलाई थप हौसला बढायो । त्यसपछि उनले पाइलट पाण्डेलाई फ्रेन्ड रिक्वेस्ट पठाइन् ।
‘मलाई जसरी पनि पाइलट बन्नु थियो । मैले कुनै पाइलटलाई त्यो बेलासम्म चिनेकी पनि थिइन । मेरो लागि यो क्षेत्र नौलो भएपनि म भित्रको लगावले मलाई सङ्घर्ष छोड्ने छुट भने दिएन । प्लेन र पाइलटसम्बन्धी सबै भिडियोमा लाइक गर्थें, देखेका जति सबै पाइलटलाई फ्रेन्ड रिक्वेस्ट पठाइहाल्थे,’ मुस्कुराउँदै उनले भनिन् ।
जोखिमपूर्ण पेशा, साहस भर्दै दक्षिण अफ्रिका

पाइलट पाण्डेले सृष्टिलाई गाइड गरे । यस्तोमा पाइलट बन्नका लागि उनले एउटा माध्यम उनले पाइसकेकी थिइन् । उनले ‘म पाइलट बन्छु’ भन्दा उनका बुवा–आमा मुस्कुराउँदै छोरीलाई सान्त्वना दिँदै ‘हुन्छ’ भन्थे । तर उनीहरूको भित्री चाहना भने सृष्टिलाई आईटी इन्जिनियरिङ पढाउनु थियो । पाइलट बन्नका लागि घरमा बुवा–आमालाई विश्वस्त पार्नुपर्ने मुख्य चुनौती थियो । त्यसका लागि उनले निकै जिद्दी गर्नुपर्यो । अन्ततः बुवा–आमा पनि छोरीलाई पाइलट बनाउन राजी भए । सृष्टिले ३ महिना पाइलट कोर्ससम्बन्धी अनलाइन कक्षा लिइन् । पाइलट अध्ययनका लागि नेपालीहरूको गन्तव्य दक्षिण अफ्रिका अमेरिका र फिलिपिन्स लगायतका देशहरू हुन् । तीमध्ये दक्षिण अफ्रिकामा नेपालीहरूको आकर्षण बढी छ । सृष्टिले पनि दक्षिण अफ्रिका नै रोजिन् ।
‘साउथ अफ्रिकाको तयारीमा थिए । त्यसका लागि कागजात प्रक्रिया धेरै मिलाउनु पर्ने रहेछ । काठमाडौंका गल्ली–गल्लीमा धरैपटक हराएकी छु । गुगलको सहारामा धेरै पटक काम गरे । हरेक ठाउँमा मैले दुई–तीन पटक प्रयास गर्नुपर्यो । हरेक कुरामा रोकावट आयो, तर मैले हिम्मत हारिनँ,’ उनी भन्छिन् ।
हवाई यात्रा निकै जोखिम मानिन्छ । नेपालमा पछिल्लो समय दुर्घटनाको श्रृंखला पनि निकै बढेको छ । सृष्टि दक्षिण अफ्रिका जाने दिनभन्दा केही समयअघि मात्रै यती एयरलाइनसको जहाज दुर्घटना भएको थियो । दक्षिण अफ्रिकामा पनि पाइलट कोर्स गरिरहेका एक विद्यार्थीको ज्यान गएको थियो । यी प्रतिनिधि घटनाले सृष्टिका आमा–बुवा निकै डराएका थिए । डर उनीभित्र पनि थियो । तर पाइलट बन्ने हुटहुटी र साहसले उनको यात्रा तय गर्याे । उनी पाइलट बन्ने सपनाका साथ दक्षिण अफ्रिका उडिन् ।
जब लुटेराले हात–खुट्टा बाँधेर भुइँमा लडाए
दक्षिण अफ्रिका पुग्दा सृष्टिलाई नयाँ ठाउँ, नौलो परिवेश लाग्नु स्वाभाविकै थियो । यद्यपि, उनलाई थाहा थियो– यो देश पाइलट बन्न खोज्ने नेपालीहरूको सपनाको देश हो । त्यो त दक्षिण अफ्रिकामा जति सुविधा छ, त्यत्तिकै खतरा पनि छ । आपराधिक क्रियाकलापमा पनि दक्षिण अफ्रिका विश्वमै तेस्रो स्थानमा छ । यहाँ लुटपाट, हत्या, हिंसा र बलात्कार दिनहुँजसो भइरहन्छन् । यस्तोमा पनि पाइलट कोर्स गर्दै गरेकी सृष्टिको दैनिकी सुरक्षित तबरले नै बित्दै थियो । एकदिन भने फरक अवस्था आयो । सृष्टि आफ्नै निवासमा साथीहरूसहित अध्ययन गरिरहेकी थिइन् । एक्कासि बन्दुकसहितको एक जत्था आयो । अपरिचित व्यक्तिहरूको सो समूहको घेराबन्दीमा उनी लगायतका विद्यार्थी परे । यस्ता घटनाको कल्पनासम्म नगरेकी सृष्टिलाई चलचित्र सुटिङ गरेजस्तो लागिरहेको थियो । जब कन्चटमा बन्दुक राख्दै हात र मुख बाँधेर जमिनमा लडाइयो तब भने उनको मनमा त्रास पस्यो । उनलाई जीवनको अन्तिम दिन आजै हो जस्तो लाग्यो ।
‘मैले त्यो दिनअघिसम्म कहिलै भगवानको नाम लिएकी थिइन । तर त्यो अवस्थामा आमा–बुवा र भगवान (कुल देवता)को नाम पटक–पटक जपे । लुटेराहरूले त्यहाँ रहेका सामानहरू एक–एक गरेर लगे । मेरा पनि ट्याप, पावर ब्याङ्क लगायतका सामग्री लगे । अन्य साथीका मोबाइल, ल्यापटप, पैसा अनि कार्डहरू लुटिए । मेरा ल्यापटप र कार्डहरू भने किताबहरूकोभित्र रहेका कारण जोगियो,’ त्यो घटनाबारे उनले भनिन् ।
अपराधको दलदलमा रहेको दक्षिण अफ्रिकामा अझैपनि सृष्टि सुरक्षित महसुस भने गरिरहेकी छैनन् । ‘पढाइमा मात्र फोकस छौँ । बस्ने ठाउँ वरिपरि पनि राम्रोसँग घुमेकी छैन, डर लाग्छ । सपनाको खोजीमा यहाँ आएकी हुँ, त्यसैले आफ्नो तर्फबाट शतप्रतिशत मेहनत गर्दैछु,’ उनले भनिन् ।
नेपाली आकाशमा जहाज उडाउने धोको
पाइलट बन्नका लागि दक्षिण अफ्रिकामा सङ्घर्ष गरिरहेकी सृष्टिलाई पहिलो सफलता हासिल भइसकेको छ । प्राइभेट प्लेन चलाउने लाइसेन्स पाएपश्चात् उनी कमर्सियल पाइलट बन्ने दौडमा छिन् । प्राइभेट लाइसेन्स (अनुमतिपत्र) पाउन पनि उनले अथाह सङ्घर्ष गरेकी छिन् । ३ महिनामै पाउनु पर्ने लाइसेन्सका लागि उनले एक वर्ष कुर्नु पर्यो । कहिले मौसम त कहिले प्लेनको कन्डिसनले साथ दिएन । अहिले उनी सार्वजनिक पाइलटका लागि कोर्स पूरा गरिरहेकी छिन् । ‘व्यस्तता निकै छ । १० वटा विषय पढ्नु पर्छ । बेला–बेलामा परीक्षा भइरहन्छ, अनि टा«यल पनि गरिरहेका छौँ । अबको ६ महिनाभित्रै कमर्सियल लाइसेन्स पनि पाउँछु होला । म त्यसैका लागि अहिले सङ्घर्षरत छु,’ उनले प्रस्ट्याइन् ।
लुटेराको समूहबाट उम्किँदाको समय र पहिलो पटक पाइलट डे«स लगाउँदाको अवस्था सृष्टिका लागि अविस्मरणीय क्षण हुन् । ‘प्लेन चलाउनुअघि मनमा डर हुन्छ । फर्किन पनि सक्छौँ नफर्किन पनि सक्छौँ भन्ने । हामीलाई प्रत्येक पलमा जीवन र मृत्युको आभास हुन्छ । जोखिम पनि निकै छ, तर हामीलाई अध्ययन र तालिमका क्रममा दुर्घटना कसरी हुन्छ ? हुन नदिने कसरी र बचाउने कसरी भन्ने बारेमा सिकाइएको हुन्छ । पाइलट बन्न सजिलो छैन । अटो पाइलटको भरमा चल्न पनि सकिँदैन । किनकि पाइलटका लागि डिसिजन मेकिरू महत्त्वपूर्ण हुन्छ । अटो पाइलटले डिसिजन मेकिङ गर्दैन । जतिबेला जे पनि हुन सक्छ । यही भएर धेरैले पढ्न नसकेर बीचैमा छोडका पनि छन्,’ उनले भनिन् ।
सृष्टि आफ्नो सफलताको श्रेय बुबा–आमालाई दिन्छिन् । पाइलट बढाउनका लागि उनीहरू तयार नभएको खण्डमा आफ्नो सपना अधुरो नै रहेको हुन उनलाई थाहा छ । ‘पाइलट बनाउनका लागि उहाँहरूले मलाई यहाँसम्म पठाउनु भएको छ । यही नै मेरा लागि सौभाग्य हो । अहिले उहाँहरू निकै खुसी हुनुहुन्छ । मम्मी–ड्याडीलाई प्लेनमा बसाएर घुमाउन मन छ । तर के गर्नु उहाँहरू नेपाल अनि म दक्षिण अफ्रिका छु । मैले बोलाएकी छु, सान्त्वना दिनका लागि आउँछौँ त भन्नु हुन्छ तर कहाँ सम्भव छ र अहिले,’ व्यावहारिक हुँदै उनी भन्छिन् ।
विष्ट दम्पतीका सन्तानका रुपमा दुई छोरी छन् । जेठी छोरी सृष्टि पाइलट कोर्स पूरा गर्न दक्षिण अफ्रिकामा रहँदा कान्छी छोरी नेहारिका भने बुवा–आमाको साथमै छिन् । सृष्टिकी बहिनी नेहारिकालाई भने व्यापार–व्यवसायतिर लगाव छ । कुनै ठूलो कम्पनीमा प्रमुख कार्यकारी अधिकृत (सीईओ) बन्ने सपनाका लागि उनी नेपालमै अध्ययन गरिरहेकी छिन् ।
यता सृष्टि भने हाल दक्षिण अफ्रिकाको कोर्स पूरा गरेर मात्र नेपाल फर्किने मनसायमा छिन् । नेपाली आकाशमा यात्रुबाहक विमान उडाउने उनको तीव्र आकांक्षा छ । लोकान्तरसँगको करिब एक घण्टाको कुराकानीपछि उनको फ्लाइटमा जाने समय भयो । बिदाइका हात हल्लाउँदै उनी गन्तव्यतिर लागिन् ।