२९ जेठ २०८३, शुक्रबार

सन्दीप अभ्यासमा व्यस्त, अवलोकनमा पारस

जेठ ५, २०८१
काठमाडौं
सन्दीप अभ्यासमा व्यस्त, अवलोकनमा पारस

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछाने विश्वकपको तयारीस्वरुप अभ्यास गरिरहेका छन् ।

शनिबार पनि उनले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अभ्यास गरे ।

नेटमा बलिङ अभ्यास गरिरहेका सन्दीपलाई ब्याटर लोकेश बमले सघाइरहेका थिए ।

यस्तै विनोद भण्डारी, शरद भेषावकर, मौसम ढकालले पनि उपस्थित भएर सन्दीपलाई सघाइरहेको भिडियोमा देख्न सकिन्छ । सन्दीपले बलिङसँगै ब्याटिङको पनि अभ्यास गरेका थिए । 

यसैबीच शनिबार नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्का पनि सन्दीपको विश्वकप तयारी हेर्न कीर्तिपुर पुगेका थिए । उनले सन्दीपसँग भलाकुसारीसमेत गरेका थिए । 

गत बुधबार बलात्कार मुद्दाबाट सफाइ पाएसँगै सन्दीपले विश्वकप खेल्ने बाटो खुलेको थियो । बाटो खुलेपछि उनी बिहीबारदेखि नै अभ्यासका लागि जुटेका थिए ।

आगामी जुन १ तारिखदेखि अमेरिका र वेस्ट इन्डिजमा हुन गइरहेको टी–२० क्रिकेट विश्वकपमा उनले खेल्ने बाटो खुलेको छ । तर प्राविधिक विषय मिलाउन भने बाँकी छ । 

टी–२० विश्वकप खेल्नका लागि नेपालले १५ सदस्यीय टोलीको नाम दिइसकेको छ । अब मे २५ सम्ममा थपघट गर्न पाइने प्रावधान छ ।

क्यानले सन्दीपको नाम दिनेछ । त्यसपछि उनले विश्वकप खेल्न पाउनेछन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)को ग्रीन सिग्नल पाएसँगै क्यानले सन्दीपलाई अमेरिका पठाउने तयारी गरिरहेको हो ।  

अहिले नेपाली टोली अमेरिकामा छ । त्यहाँ अभ्यास खेल खेलिरहेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्