
गोली लागी घाइते भएका स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोको स्वास्थ्य अवस्था स्थिर रहेको स्लोभाकियाली स्वास्थ्यमन्त्रीले बताएका छन् ।
प्रधानमन्त्री फिकोलाई बुधबार एक बन्दूकधारी व्यक्तिले गोली हानी हत्या गर्ने प्रयास गरेका थिए ।
आक्रमणपछि बिहीबार र शुक्रबार दुई वटा सफल शल्यक्रिया भएका छन् भने उनको अवस्था ‘सुधारोन्मुख’ रहेको स्वास्थ्य मन्त्रालयले उनको उपचारमा सम्लग्न चिकित्सकहरूलाई उद्धृत गरी जनाएका छन् ।
फिकालाई बुधबार नै अस्पताल भर्ना गरिएको थियो ।
स्लोभाकको मध्य शहर बाँस्का बाइस्ट्रिकाको एक अस्पतालमा बुधबार पाँच घण्टा र शुक्रबार अर्को शल्यक्रिया गरिएको हो ।
स्लोभाकियाका सञ्चार माध्यमका अनुसार आक्रमणका लागि आरोपित ७१ वर्षीय कवि जुराज सिन्तुलालाई राजधानी ब्रातिस्लाभाको उत्तरपूर्वमा रहेको पेजिनोकस्थित विशेष दण्ड अदालतले पुर्पक्षका लागि थुनामा राखेको छ ।
सिन्तुलामाथि सुनियोजित हत्या प्रयासको आरोप लागेको छ ।