
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
सहकारी ठगी प्रकरणलाई लिएर सिर्जना भएको संसदको गतिरोध अन्त्य गर्न सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी दल सहमत भएका छन् ।
सत्तारुढ एमाले, माओवादी केन्द्र र रास्वपासँगै प्रतिपक्षी कांग्रेसलगायत दलहरू संसदीय छानबिन समिति गठनका लागि सहमत भएका हुन् ।
तर, समितिको कार्यादेश (टीओआर) के हुने भन्नेबारे टुंगो लाग्न बाँकी छ । कांग्रेस प्रमुख सचेतक रमेश लेखकले छानबिन समितिको कार्यादेश आज बिहान छलफलपछि टुङ्गो लगाइने जानकारी दिए । यससँगै आइतबारको प्रतिनिधिसभामा विपक्षीबाट जारी अवरोध हट्ने अपेक्षा गरिएको छ ।
००००
सरकारले स्टार्टअप उद्यम गर्नेहरूका लागि विभिन्न छुट तथा सुविधा उपलब्ध गराउने र यस्तो उद्यममा लगानी प्रवद्र्धन एवम् सहजीकरण गर्ने भएको छ ।
गत वैशाख २० गतेको मन्त्रिपरिषद् बैठकबाट पारित भई कार्यान्वयनमा आएको ‘राष्ट्रिय स्टार्टअप नीति, २०८०’ मा स्टार्टअप उद्यमलाई सरकारले विभिन्न छुट सुविधा, लगानी सहजीकरण, नीतिगत तथा कानुनी प्रबन्ध, व्यावसायिक सुरक्षालगायतका प्रत्याभूति गर्ने उल्लेख गरेको छ ।
“स्टार्टअप उद्यमको दर्ता, नवीकरण एवं औद्योगिक सम्पत्तिको दर्तामा लाग्ने शुल्क तथा दस्तुरमा छुट दिइने छ । बीउ पूँजी, जनशक्ति विकास, परामर्श तथा प्रविधि सहयोग, सहुलियतपूर्ण ऋण, निर्यातमा नगद अनुदानलगायत अन्य उद्यमलाई प्रदान गरेका सहुलियत तथा सुविधा उपलब्ध गराइनेछ”, नीतिमा भनिएको छ, “स्टार्टअप उद्यम स्थापना भएको १० वर्षसम्म आयकरमा छुट दिने व्यवस्था गरिनेछ । बैंक तथा वित्तीय संस्थाबाट सहुलियतपूर्ण ब्याजदरमा कर्जा उपलब्ध गराउने व्यवस्थाका साथै बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने कर्जाको निश्चित प्रतिशत स्टार्टअप उद्यममा लगानी गर्न आवश्यक व्यवस्था मिलाइनेछ ।”
००००
बागमती प्रदेशसभाका तीन वटा संसदीय समितिको सभापति चयन गरिएको छ ।
शनिबार सम्पन्न निर्वाचनबाट सार्वजनिक लेखा समिति सभापति श्रीराम लामिछाने, प्रदेश मामिला समिति सभापति छिरिङ दोर्जे र शिक्षा, स्वास्थ्य तथा कृषि समिति सभापति ठाकुर ढकाल चयन भएका हुन् ।
००००
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछाने विश्वकपको तयारीस्वरुप अभ्यास गरिरहेका छन् ।
शनिबार पनि उनले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अभ्यास गरे । नेटमा बलिङ अभ्यास गरिरहेका सन्दीपलाई ब्याटर लोकेश बमले सघाइरहेका थिए ।
यस्तै विनोद भण्डारी, शरद भेषावकर, मौसम ढकालले पनि उपस्थित भएर सन्दीपलाई सघाइरहेको भिडियोमा देख्न सकिन्छ । सन्दीपले बलिङसँगै ब्याटिङको पनि अभ्यास गरेका थिए ।
यसैबीच शनिबार नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्का पनि सन्दीपको विश्वकप तयारी हेर्न कीर्तिपुर पुगेका थिए । उनले सन्दीपसँग भलाकुसारीसमेत गरेका थिए ।
गत बुधबार बलात्कार मुद्दाबाट सफाइ पाएसँगै सन्दीपले विश्वकप खेल्ने बाटो खुलेको थियो । बाटो खुलेपछि उनी बिहीबारदेखि नै अभ्यासका लागि जुटेका थिए ।
आगामी जुन १ तारिखदेखि अमेरिका र वेस्ट इन्डिजमा हुन गइरहेको टी–२० क्रिकेट विश्वकपमा उनले खेल्ने बाटो खुलेको छ । तर प्राविधिक विषय मिलाउन भने बाँकी छ ।
टी–२० विश्वकप खेल्नका लागि नेपालले १५ सदस्यीय टोलीको नाम दिइसकेको छ । अब मे २५ सम्ममा थपघट गर्न पाइने प्रावधान छ ।
क्यानले सन्दीपको नाम दिनेछ । त्यसपछि उनले विश्वकप खेल्न पाउनेछन् । यसका लागि मे २५ सम्मको समयसीमा छ ।
००००
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी सोमबार विश्वासको मल लिने भएका छन् ।
नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिस डाँडामा आयोजित पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले यस्तो बताएका हुन् ।
साथै सहमति र संवादबाट विद्यमान अवरोधले निकास पाउने उनले विश्वास व्यक्त गरे ।
००००
मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट अखिल क्रान्तिकारीका संयोजक मिलन राईको गिरफ्तारी विरुद्ध ११ वटा संगठनहरुले विरोध जनाएका छन् ।
शनिबार उक्त पार्टीनिकट ११ वटा जवस र मोर्चाहरूले एक संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै संयोजक राईको गिरफ्तारी गैरन्यायिक भएको भन्दै यथाशीघ्र रिहा गर्न माग गरेका हुन् ।