
नेपाली कांग्रेससहित विपक्षी ५ दलले प्रतिनिधिसभा बैठकमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने बोल्दा अवरोध नगर्ने निर्णय गरेका छन् ।
बानेश्वरमा कांग्रेसको अगुवाइमा बसेको विपक्षी ५ दलको बैठकले लामिछानेलाई बोल्न दिने निर्णय गरेको हो ।
‘कांग्रेससहितको विपक्षी ५ दलको बैठकले गृहमन्त्री रवि लामिछानेलाई बोल्न दिने निर्णय गरेको छ,’ छलफलमा सहभागी कांग्रेस नेता विमलेन्द्र निधिले लोकान्तरसँग भने, ‘गृहमन्त्रीको भनाइ चित्त बुझ्यो भने मात्रै संसद् बैठक अगाडि बढ्छ ।’
कांग्रेस, राप्रपा, जसपा नेपाल, लोसपा र राष्ट्रिय जनमोर्चाको बैठकले सहकारी प्रकरणमा टीओरसहितको छानबिन समिति गठन भए मात्रै संसद्का कामकारबाही अगाडि बढ्न दिने पनि निर्णय गरेको छ ।
‘गृहमन्त्रीले बोलेको चित्त बुझ्यो र सहकारी प्रकरणमा टिओरसहितको छानबिन समिति गठन भयो भने संसद् बैठक सहजै अगाडि बढ्न दिन्छौं,’ निधिले भने, ‘नभए गृहमन्त्रीको भनाइ पनि चित्तबुझ्दो नहुने र छानबिन समिति बनाउँदा सहकारी ठगी गर्नेलाई उन्मुक्ति दिने तरिका अपनाइयो भने हामी संसद सहजै अगाडि बढ्न दिँदैनौं ।’
बानेश्वरस्थित संसद् भवन परिसरमा बसेको बैठकमा कांग्रेसबाट सभापति शेरबाहदुर देउवा, उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा तथा नेताहरू विमलेन्द्र निधि, डा. शशांक कोइराला र रमेश लेखकसहभागी थिए । राप्रपाबाट ज्ञानेन्द्रबहादुर शाही, जसपा नेपालका उपेन्द्र यादव, लोसपाका महन्थ ठाकुर, शरतसिंह भण्डारी र राष्ट्रिय जनमोर्चाबाट चित्रबहादुर केसीलगायत सहभागी भएका थिए ।