
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले केन्द्रीय समितिको बैठक बोलाएको छ ।
बैठक यही जेठ ११ देखि १३ गतेसम्म काठमाडौंमा पार्टीका नेता राजाराम श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार पार्टीले उठाउँदै आएको हिन्दूराष्ट्र, सङ्घीयतालगायत विषयमा वैचारिक दृष्टिकोण, देशभर पार्टी सङ्गठनको अवस्था, जनवर्गीय सङ्गठनका कार्यप्रगति, पार्टीको आन्तरिक विवाद समाधानका लागि बैठक आह्वान गरिएको हो ।
साथै समसामयिक परिस्थितिबारे छलफल गरिने उनले जानकारी दिए ।
बैठकमा प्रदेश, क्षेत्र र भूगोलको सन्तुलन मिलाएर आवश्यक स्थानमा नेताहरूको जिम्मेवारी तोकिनुका साथै सङ्गठन विस्तार तथा पार्टीलाई आधारभूत तहसम्म स्थापित गर्न आवश्यक कार्ययोजनाबारे छलफल गरिनेछ ।
पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले समसामयिक राजनीतिक प्रतिवेदन तथा महामन्त्री डा धवलशम्शेर जबराले साङ्गठनिक प्रतिवेदन पेस गर्नेछन् ।
बैठकमा पार्टीको आगामी कार्यक्रम, युवा सहभागिता वृद्धि गर्ने, विधान आवश्यक हेरफेरका लागि समेत छलफल गरिने नेता श्रेष्ठले बताए ।