
नेपालगन्ज उपमहानगरपालिकामा सामुदायिक कुकुरको बन्ध्याकरण शुरू भएको छ ।
कुकुरले टोकेर हुने रेबीजको जोखिमका साथै कुकुरको बढ्दो सङ्ख्या घटाउन उपमहानगरले सामुदायिक कुकुरको बन्ध्याकरण शुरू गरेको हो ।
उपमहानगरकी पशु शाखा प्रमुख लक्ष्मी शाहीका अनुसार शुक्रबारदेखि शुरू भएको बन्ध्याकरण शिविरबाट हालसम्म ९७ सामुदायिक कुकुरको बन्ध्याकरण गरिएको छ ।
'सामुदायिक कुकुरको सङ्ख्याका साथै रेबीज न्यूनीकरणका लागि यो कार्यक्रम सञ्चालन गरेका हौं', उनले भनिन् । नेपालगन्जमा रहेका २३० सामुदायिक कुकुरको बन्ध्याकरण गर्ने लक्ष्य राखिएको उनले जानकारी दिइन् ।
पशु चिकित्सक सुरज चौधरीले पशु अधिकारका विरुद्धमा बन्ध्याकरण नभएको उल्लेख गर्दै सामुदायिक कुकुरको बढ्दो क्रमलाई घटाउनु यसको उद्देश्य रहेको बताए ।
उनले रेबीजसँगै अन्य विभिन्न रोगको सङ्क्रमणबाट मानिसलाई जोगाउन पनि बन्ध्याकरण आवश्यक भएकाले यो अभियान सञ्चालन गरिएको उनले जोड दिए ।
पशु चिकित्सक चौधरीले बन्ध्याकरण भएपछि कुकुरले टोक्ने वा भुक्ने काम कम गर्ने जानकारी दिँदै कुकुर शान्त स्वभावको हुने बताए ।
नेपालगन्जमा हुने विद्युत् अनियमितताले बन्ध्याकरणमा समस्या भइरहेको उनको भनाइ छ ।
‘डग क्याचर’मार्फत कुकुरलाई समातेर बन्ध्याकरण गरिएको छ ।
कुकुरको बन्ध्याकरण गर्नुअघि उसलाई सुई लगाएर बेहोस बनाइने पशु विज्ञको भनाइ छ । बन्ध्याकरण कार्यक्रमका लागि रु छ लाख बढी खर्च हुने बताइएको छ ।