
जसपा सांसदलाई संसदीय गतिविधिमा संलग्न हुन नदिन माग गर्दै सर्वोच्चमा रिट परेको छ ।
जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले आइतबार रिट दायर गरेका हुन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले सोमबार प्रतिनिधि सभा बैठकमा विश्वासको मत लिँदैछन् ।
उनलाई दिने विश्वासको मत र संसदीय गतिविधिमा संलग्न हुन नदिन माग गर्दै सर्वोच्चमा रिट दायर गरिएको अधिवक्ता अजयशंकर झाले लोकान्तरलाई जानकारी दिए ।
सोमबार प्रतिनिधि सभामा विश्वासको मत लिनको लागि प्रचण्डले संसद् सचिवालयलाई पत्राचार गरेका थिए ।
जसपा विवादको टुंगो लागिनसकेको अवस्थामा प्रचण्डले संसद्मा विश्वासको मत लिँदा जसपाका ७ सांसदले मत दिन नपाउने माग दाबी रिटमा गरिएको छ ।
जसपा नेपालबाट दल त्याग गरेर गएका ७ जना सदस्यहरूको पद स्वतः रिक्त भएकाले उनीहरूले विश्वासको मतको मतदान प्रकृयामा भाग लिन नपाउने दाबी रिटमा गरिएको छ ।
सर्वोच्चले आइतबार रिट दर्ता गरिसकेको र भोलि (सोमबार)का लागि पेशी तोकेको अधिवक्ता झाले जानकारी दिए ।
यसअघि पार्टी विभाजनविरुद्ध परेको रिटमा सर्वोच्चले जसपा विभाजन भएर बनेको पार्टीको दर्ता प्रक्रिया यथास्थितिमा राख्न आदेश दिएको थियो ।
वैशाख २३ गते उपेन्द्र यादव नेतृत्वको जसपा विभाजन भएको थियो ।
पार्टी विभाजनमा प्रधानमन्त्रीकै संलग्नता रहेको आरोप लगाउँदै यादवले उपप्रधानमन्त्रीबाट राजीनामा गरेर सरकारलाई दिएको समर्थन फिर्ता लिएका थिए ।
उपेन्द्रले समर्थन फिर्ता लिएकै कारण प्रचण्डले सोमबार प्रतिनिधि सभामा विश्वासको मत लिने तयारी गरेका थिए ।
* सच्याइएको : यसअघिको समाचारमा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले संसद्मा लिन लागेको विश्वासको मत रोक्न माग गर्दै सर्वोच्चमा रिट दायर भएको उल्लेख भएकोमा सच्याइएको छ -सम्पादक ।