
दैलेखबाट सुर्खेतका लागि छुटेको बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । अन्य २१ जना घाइते भएका छन् ।
कर्णाली प्रदेश ०२००१ ख ०८५२ नम्बरको बस सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–७ कटकुवा नजिक दुर्घटना भएको हो ।
दुर्घटनामा दुल्लु नगरपालिका–१० गमौडी घर भई हाल ठाकुरबाबा नगरपालिका–५ नेउलापुर बस्ने ६५ वर्षीय शेरबहादुर खड्का र दैलेख डुङ्गेश्वर गाउँपालिका–६ का भीमसेन रानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिए ।
उनका अनुसार बसमा सवार अन्य २१ जना घाइते भएका छन् । तीमध्ये १ जनाको अवस्था गम्भीर रहेको छ ।
२० जनाको अवस्था भने सामान्य रहेको विश्वकर्माले जानकारी दिए ।
घाइतेको कर्णाली प्रदेश अस्पताल सुर्खेत र वीरेन्द्रनगरका केही मेडिकलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
बस सडकबाट तल खसेको तर रुखमा अड्किँदा थप मानवीय क्षति हुनबाट जोगिएको थियो ।
तीव्र गतिका कारण बस दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।