३० जेठ २०८३, शनिबार
सरसर्ती २४ घण्टा

सभामुखविरुद्ध खनिए विपक्षी दल, कांग्रेसलाई प्रचण्डको चेतावनी

जेठ ८, २०८१
काठमाडौं
सभामुखविरुद्ध खनिए विपक्षी दल, कांग्रेसलाई प्रचण्डको चेतावनी

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको नाराबाजीका बीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाको बैठकमा सोमवार विश्वासको मत लिएका छन् । 

२०७९ पुस १० गते प्रधानमन्त्री भएका प्रचण्डले १६ महिनामा चौथोपटक विश्वासको मत लिएका हुन् । पार्टी विभाजनपछि जसपा नेपालले समर्थन फिर्ता लिएको अवस्थामा ३० दिनभित्र विश्वासको मत लिनैपर्ने बाध्यता प्रधानमन्त्रीसामु थियो ।

कांग्रेसको अवरोधबीच उनले १५७ सांसदको समर्थन पाए । विपक्षमा शून्य र मत दिन्नँ भन्ने पक्षमा १ मत र्पयो । नाराबाजी गर्दै वेल घेरेको कांग्रेस भने मतदान प्रक्रियामा सहभागी भएन । राप्रपा, जसपा नेपाल, लोसपा र राष्ट्रिय जनमोर्चा पनि मतदानमा सहभागी भएनन् ।
००००
यस्तै प्रधानमन्त्रीले प्रमुख प्रतिपक्षी दलले संविधान अनुरूप आफूलाई विश्वासको मत लिन अवरोध गर्दाको मूल्य चर्को पर्ने चेतावनी दिएका छन् ।

कांग्रेसको अवरोधका बीच विश्वासको मत लिने क्रममा जवाफ दिँदै उनले यस्तो बताएका हुन् । ‘नेपालको इतिहासमा जुन प्रधानमन्त्रीले तपाईँहरूलई पटक पटक साथ दियो । योपटक पनि संवाद र सहमतिको बाटोमा ल्याउन मेहनत गरेको छ । तर विश्वासको मत लिन नदिएर तपाईँहरूले इतिहासमा नराम्रो उदाहरण प्रस्तुत गर्नुभयो’, प्रधानमन्त्रीले भने, ‘यसको निम्ति गहिरो दुःख व्यक्त गर्दछु । कांग्रेसको लागि यसको मूल्य चर्को पर्नेछ । कांग्रेसको लागि यो कलंकको रुपमा स्थापित हुनेछ ।’
००००
सोमबार प्रतिनिधि सभा बैठकमा कांग्रेसलगायत विपक्षी दलको नाराबाजी चलिरहेको समयमा सभामुखले बैठक अघि बढाएका थिए ।  विपक्षी दलको विरोध र अवरोधका बावजुद संसद् बैठक सञ्चालन गरेको भन्दै उनीहरुले संसद्मा ‘सभामुखको गरिमा कायम गर’ भन्ने नारा लगाएका थिए । 
००००
यस्तै नेपाली कांग्रेससहितको विपक्षी ५ दलको दलहरूको बैठकले सभामुख देवराज घिमिरे पार्टी कार्यकर्ता जसरी सदनमा प्रस्तुत भएको निष्कर्ष निकालेको छ ।

सहकारी ठगी प्रकरणको छानबिन गर्न संसदीय समिति गठनको माग गर्दै विपक्षीले विरोध कायम राखे पनि प्रधानमन्त्रीलाई विश्वासको मत लिने प्रक्रिया अगाडि बढाएको भन्दै विपक्षी दलले सभामुख दलको कार्यकर्ताभन्दा माथि उठ्न नसकेको बताएका हुन् ।

‘प्रतिनिधि सभाको  बैठकमा सभामुख पार्टीका कार्यकर्ता जसरी प्रस्तुत हुनुभएको हाम्रो निष्कर्ष छु, बैठकपछि राप्रपाका सांसद ज्ञानेन्द्रबहादुर शाहीले भने, ‘सभामुख निष्पक्ष हुनुपर्ने हो तर उहाँ पार्टी कार्यकर्ताको भूमिबाट माथि उठ्नु भएन ।’
००००
प्रमुख प्रतिपक्षी दल कांग्रेसले छुट्टै पत्रकार सम्मेलन गरेर पनि सरकारले सदनलाई ब्यारेकजस्तो बनाएर विश्वासको मत लिएको निष्कर्ष निकालेको छ । आफूहरूको विरोधका बीच प्रधानमन्त्रीले सदनमा विश्वासको मत लिएपछि सरकारले बलमिच्याइँ र तानाशाही व्यवहार देखाएको कांग्रेसले जनाएको हो ।

००००
नेकपा एमालेका उपाध्यक्षले विष्णु पौडेलले लोकतान्त्रिक अभ्यासको अनुसरण गरी संसद्को गतिरोध अन्त्य गर्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई आग्रह गरेका छन् ।

प्रतिनिधि सभाको सोमबारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मतका लागि गरेको प्रस्तावको समर्थन गर्दै पौडेलले मुलुकमा राजनीतिक स्थिरताका लागि संसद्को गतिरोध अन्त्य हुनुपर्ने बताएका हुन् ।
००००
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मतमा विश्व रेकर्ड कायम गरेको बताएका छन् ।

सोमबार प्रतिनिधि सभाको बैठकमा चौथोपटक विश्वासको मत लिएर बाहिरिने क्रममा प्रधानमन्त्री प्रचण्डले आफूले चौथोपटक पाएको विश्वासको मतले विश्व रेकर्ड बनेको बताएका हुन् ।

आवश्यक पर्दा अझै १०–१२ पटक विश्वासको मत लिन सक्ने उनले बताए ।
००००
नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले गृहमन्त्री रवि लामिछानेमाथि संसद्माथिको अवहेलनामा कारबाही गरीपाउँ भन्दै निवेदन दिएका छन् ।

गुरुङले गृहमन्त्रीबाट कांग्रेसका नेतामाथि बढाइचढाइ नभएको कुरामा लाञ्छना लगाएको र कूटनीतिक राहदानी दुरुपयोगका विषयमा भ्रम सिर्जना गरेको भन्दै सभामुख देवराज घिमिरेसमक्ष निवेदन दिएका हुन् ।
००००
भगवान् पशुपतिनाथको मन्दिरमा चढाइएको भेटी गन्ने क्रममा चोरी गर्ने व्यक्ति पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा पशुपति क्षेत्र विकास कोषका कर्मचारी अनिल परियारसहित आठ जना रहेका कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए ।     
००००
नेकपा एकीकृत समाजवादीकी नेतृ तथा पूर्वमन्त्री रामकुमारी झाँक्री कांग्रेस महामन्त्री गगन थापाको समर्थनमा उत्रिएकी छन् । 

उनले थापा आन्दोलनले जन्माएको नेता भएको र युवाहरुको राजनीतिक आइकन समेत भएको बताएकी छन् । 

सोमबार सामाजिक सञ्जाल फेसबुकमा एक पोस्ट गर्दै झाँक्रीले गृहमन्त्री रवि लामिछानेलाई आरोप प्रमाणित गरेर देखाउन चुनौती दिइन् ।
००००
मुलुकका सङ्घीय अस्पतालमा आएका उपकरणमध्ये १४ प्रतिशत जडान नै नगरिएको पाइएको छ । 

स्वास्थ्य सेवा विभागले लाइफलाइन इन्टरप्राइजेजसँगको सहकार्यमा गरेको ‘नेपालका सार्वजनिक स्वास्थ्य संस्थामा बायोमेडिकल उपकरणको सर्वेक्षण’ सार्वजनिक कार्यक्रममा इन्टरप्राइजेजका अध्यक्ष अञ्जली टिवरिवालका अनुसार दुई हजार छ सय ४५ स्वास्थ्य उपकरण अझै जडान गरिएको छैन ।
००००
पूर्वराजा ज्ञानेन्द्र शाहले सोमबार ललितपुरको पाटनका विभिन्न धार्मिक एवं ऐतिहासिक महत्व बोकेका मठमन्दिरमा पूजा अर्चना गरेका छन् ।
सांस्कृतिक एवं धार्मिक दृष्टिकोणले छुट्टै पहिचान बोकेको  हिरण्य वर्ण महाविहार, बङ्गलामुखी मन्दिर र कृष्ण मन्दिरमा शाहले पूजाआजा गरेका हुन् ।
००००
चालू आर्थिक वर्षको वैशाख मसान्तसम्ममा मुलुकले रु ११ खर्ब ७७ अर्ब १८ करोड ३४ लाख बराबर व्यापार घाटा ब्यहोरेको छ ।

भन्सार विभागले सोमबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत वैशाख मसान्तसम्ममा रु १३ खर्ब तीन अर्ब ३५ करोड ७० लाख बराबरको वस्तु आयात भएको थियो भने रु एक खर्ब २६ अर्ब १७ करोड ३५ लाख बराबरको निर्यात भएको थियो ।
००००
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफ्नो पद जोगाउनेतिर मात्र ध्यान दिँदा सरकारले बनाएका दुई महत्त्वपूर्ण आयोगका प्रतिवेदन थन्किएको छ ।

बालकुमारीमा प्रहरीको गोली लागेर मृत्यु भएपछि बनेको आयोग र सुनको अवैध पैठारी नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनमा नगई गृह मन्त्रालयमा थन्किएको हो ।
००००
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक बोलाएको छ ।

संसदमा देखिएको गतिरोधसहितका समसामयिक राजनीतिक विषयमा छलफल गर्न कांग्रेसले बुधबार बिहान ११ बजे बस्ने गरी बैठक बोलाएको हो ।

salt training

कमेन्ट गर्नुहोस्