१४ असार २०८३, आइतबार
संसदीय छानबिन समितिको सकस

सहकारी प्रकरणले संसद् लगातार अवरुद्ध, अलपत्र पर्‍यो सरकारको नीति तथा कार्यक्रम

जेठ ८, २०८१
काठमाडौं
सहकारी प्रकरणले संसद् लगातार अवरुद्ध, अलपत्र पर्‍यो सरकारको नीति तथा कार्यक्रम

सहकारीको रकम अपचलन सम्बन्धमा संसदीय छानबिन समिति बनाउने/नबनाउने विवादका कारण मंगलवारको प्रतिनिधि सभा बैठक चल्ने/नचल्ने अन्योल भएको छ । संसद् नचल्दा राष्ट्रपति रामचन्द्र पौडेलले जेठ १ गते संसद्मा पेश गरेको सरकारका नीति तथा कार्यक्रम अलपत्र परेको हो । आजसम्म सरकारको नीति तथा कार्यक्रम पारित गर्ने संसद् सचिवालयको आन्तरिक तयारी थियो । 

तर, निरन्तर संसद् अवरुद्ध हुँदा नीति तथा कार्यक्रम संसद्मा टेबल हुन सकेको छैन । राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम पेश गरेपछिका बैठक चलेका छैनन् ।

आइतवार गृहमन्त्री रवि लामिछानेलाई बोल्न दिएर कांग्रेसले संसद् अवरुद्ध गरेको थियो । सोमवार अवरोधबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिएका थिए । 

संसदीय समितिको कार्यादेश (टीओआर)मा रवि लामिछानेको नाम राख्ने/नराख्ने विवादले समिति बन्न सकेको छैन । मंगलवार बसेको कार्यदलको बैठक पनि निष्कर्षविहीन भएको थियो । 

संसद्मा सहमतिको प्रयास स्वरूप सभामुख देवराज घिमिरेले मंगलवार विपक्षी दलका सचेतकहरूसँग छलफल गरेका छन् । कांग्रेसले सहकारी ठगीमा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समितिको माग पूरा नहुँदासम्म संसद् चल्न नदिने बताएको छ । 

आगामी मंगलवार जेठ १५ गते संसद्मा बजेट ल्याउनु पर्ने बाध्यता छ । संसद्को गतिरोध नहटे बजेट अधिवेशन अन्त्य गरेर अध्यादेशबाट बजेट ल्याउने विकल्पमा सत्तारूढ दलहरूले छलफल शुरु गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्