काठमाडौं ३१ असोज– प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी मन्त्रीहरुलाई दिएको जिम्मेवारी खोस्दै राप्रपाका चार मन्त्रीहरुलाई जिम्मेवारी तोकेका छन् ।

माओवादीले सम्हाल्दै आएको गृह र परराष्ट्रमन्त्रालय आफैले राखेर देउवाले उपप्रधानमन्त्री कमल थापालाई उर्जा मन्त्रालयको जिम्मेवारी दिएका छन् । यसअघि थापाले गृहमन्त्रालयको दावी गरेका थिए ।
प्रधानमन्त्री देउवाले चुनाव सार्ने तयारी गरिरहेका छन भन्ने मन्त्री जनार्दन शर्माको अभिव्यक्ति लगत्तै माओवादी मन्त्रीहरुको जिम्मेवारी खोसेका हुन् ।
राप्रपाबाट मन्त्री बनेका दिलनाथ गिरीले शहरी विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् भने कुन्ती शाही राज्यमन्त्री बनेकी छिन् । यसअघि सो मन्त्रालय माओवादीका प्रभु साहले सम्हालेका थिए ।
मन्त्री जयन्त चन्दले आपूर्ति मन्त्रालय सम्हाल्ने छन भने राज्यमन्त्री सुशील श्रेष्ठ बनेका छन् ।
विक्रम थापाले महिला वालवालिका तथा समाज कल्याण मन्त्रालयको जिम्मेवारी पाएका छन् भने कान्ता भट्टराई राज्यमन्त्री बनेकी छिन् ।

देउवाले जिम्मेवारी खोसेपछि माओवादी मन्त्रीहरु विनाविभागिय बनेका छन् । प्रधानमन्त्रीले चुनाव सार्ने तयारी गरेको भन्दै माओवादीले तत्काल सरकार नछाड्ने बताएको छ ।