
प्रधानमन्त्री कार्यालयका केही कर्मचारी, नेपाल क्रिकेट संघ (क्यान)का केही पदाधिकारी तथा रुप्से होलिडेज प्रा.लि. नामक ट्राभल कम्पनीको मिलेमतोमा अमेरिकाको भिसा लगाइदिने भनेर रकम संकलन गरेको खुलेको छ ।
क्यानको टिकेटिङ पार्टनर समेत रहेको रुप्से होलिडेजका सञ्चालक रमेश पराजुलीले क्यानकै केही पदाधिकारीको संरक्षणमा प्रधानमन्त्री कार्यालयमा सेटिङ मिलाएर परराष्ट्र मन्त्रालयमार्फत भिसा सहजीकरण गरिदिने नाममा रकम संकलन गरेका हुन् ।
पराजुलीले पैसा बुझेको प्रमाण लोकान्तरसँग सुरक्षित छ ।
उनले अमेरिका र वेस्टइन्डिजमा यही जेठ महिनाको अन्तिममा शुरू हुने टी-ट्वान्टी क्रिकेट विश्वकपको बहानामा अमेरिकाको भिसा लगाइदिने भनेर जनही ५ लाखसम्म रकम संकलन गरेका छन् ।
विश्वकपमा अमेरिका जान इच्छा व्यक्त गर्दै क्यानसँग सम्पर्क गर्नेहरूलाई क्यानकै पदाधिकारीले समेत रुप्से होलिडेजमा पठाएको खुलेको छ ।
भिसाका लागि सहजीकरण गरिदिन भनेर पराजुलीले शुरूमा प्रधानमन्त्री कार्यालयबाट २३ जनाको नाममा एउटा पत्र लेखाएका थिए ।
एक क्रिकेट प्रशिक्षक, खेलाडीको परिवारका केही सदस्य र क्यानका 'स्पोन्सर'हरूको नामसँगै असम्बन्धित व्यक्तिहरूको नाम समेत घुसाएर प्रधानमन्त्री कार्यालयले परराष्ट्र मन्त्रालयलाई पत्र लेखिदिएको थियो ।
'रुप्से होलिडेजका म्यानेजिङ डाइरेक्टर रमेश पराजुलीले ल्याउनुभएको लिस्टअनुसार सिफारिश गरिदिनू,' भन्ने व्यहोरा समेत उल्लेख गरिएको पत्रमा प्रधानमन्त्री कार्यालयका एक शाखा अधिकृतले हस्ताक्षर गरेका छन् ।
जबकि यसरी सिफारिश गर्न शुरूमा क्यानको बोर्डबाट निर्णय गर्नुपर्छ । त्यसपछि राष्ट्रिय खेलकुद परिषद, खेलकुद मन्त्रालय हुँदै परराष्ट्र मन्त्रालयसम्म पुग्नुपर्ने हो । तर, यहाँ मिलेमतोमा सिधै प्रधानमन्त्री कार्यालयबाट परराष्ट्रलाई पत्र लेखिएको छ ।
उक्त पत्रमा अधिकांश असम्बन्धित व्यक्तिहरूको नाम देखेपछि परराष्ट्र मन्त्रालयले सिफारिश गर्न मानेन ।
त्यसपछि एक क्रिकेट प्रशिक्षक, एकजना खेलाडीपत्नी र दुईजना क्यानका स्पोन्सरसँगै रुप्से होलिडेजका सञ्चालक रमेश पराजुलीकी पत्नीको नाम मात्र राखेर पुन: पत्राचार गरियो ।
सोही पत्रका आधारमा परराष्ट्र मन्त्रालयले 'जो जससँग सम्बन्धित छ' भन्ने विषय उल्लेख गरेर अमेरिकन दूतावासलाई लक्षित गरी पत्र लेखेको थियो ।
उक्त पत्रमा भने रमेशपत्नी अरुणा महर्जनबाहेक अधिकांश क्यानसँग जोडिएका वा सम्बन्धित व्यक्तिहरू नै छन् । यद्यपि रमेश भने अरुणा आफ्नो पत्नीका अलावा रुप्से होलिडेजको 'डाइरेक्टर' समेत भएको जिकिर गर्छन् ।
हेर्नुहोस्,५ जनाको नाममा परराष्ट्रले लेखिदिएको पत्र:

त्यसअघि प्रधानमन्त्री कार्यालयले परराष्ट्रलाई लेखेको पत्रमा भने २३ जनाको नाम उल्लेख थियो । २३ मध्ये माथि उल्लेखित ५ जनाबाहेक १८ जनाको नामावली निम्नानुसार छ :
यी नाम प्रधानमन्त्री कार्यालयबाट परराष्ट्रसम्म पुगेर रोकिएको हो । अमेरिकी दूतावासमा देखाउने गरी लेखिएको पत्रमा ५ जनाको मात्र नाम उल्लेख छ ।
परराष्ट्रले सोही व्यहोराको अर्को पत्र पनि लेखेको थियो, जसमा राष्ट्रिय खेलकुद परिषद्का प्रकाशकुमार कुशरी, अन्जन धमला र एकेन्द्रबहादुर कुँवरको नाम समावेश गरिएको छ ।
क-कसको संलग्नतामा भयो खेल ?
रुप्से होलिडेजका सञ्चालक पराजुली अहिले टिकेटिङ पार्टनरका रूपमा क्यानसँग जोडिएका छन् । नयाँ कार्यसमिति आएपछि उनी क्यानसँग जोडिएका हुन् । अहिले उनले आफूलाई क्यानका सचिव पारस खड्कासँग निकट रहेको भनेर चिनाउने गरेका छन् ।
क्यानका सचिव खड्काले आफूहरूले प्लेयर फ्यामिली, स्पोन्सर, मिडियासहित सम्बन्धित व्यक्तिहरूले मागेको खण्डमा 'रिकमेन्डेसन' दिएको, तर असम्बन्धित व्यक्तिलाई कसले घुसायो भन्ने जानकारी नभएको बताए ।
'प्लेयर्स फ्यामिली, मिडिया, स्पोसन्सर्ससहित सम्बन्धित व्यक्तिहरूले मागेको खण्डमा हामीले रिकमेन्डेसन गरिदिएका छौं,' खड्काले लोकान्तरसँग भने, 'तपाईंले नै माग्नुभयो भने पनि हामीले दिनुपर्ने हुन्छ, तर असम्बन्धित व्यक्तिलाई रेकमेन्ड गरेका छैनौं । बाहिरबाट कसले के गर्यो हामीलाई जानकारी हुँदैन ।'
रुप्से होलिडेज टिकेटिङ पार्टनरका रूपमा क्यानसँग जोडिएको स्वीकार्दै उनले उक्त ट्राभलका सञ्चालकसँग अन्य कुनै खालको सम्बन्ध नरहेको बताए ।
क्यान मात्र होइन, पराजुलीको उठबस प्रधानमन्त्री कार्यालयका केही कर्मचारीसँग पनि रहेको देखिन्छ ।
प्रधानमन्त्री कार्यालयको स्टोरमा कार्यरत अधिकृत ज्ञानेन्द्र शर्मालाई उनले मामा भनेर सम्बोधन गर्ने गरेका छन् । सामाजिक सञ्जालको गतिविधि नियाल्दा पनि उनीहरूको निकटता झल्किन्छ ।

यस प्रकरणमा ज्ञानेन्द्रमार्फत नै पराजुलीले प्रधानमन्त्री कार्यालयका अन्य कर्मचारीसँग पहुँच बनाएको देखिन्छ ।
यस विषयमा जिज्ञासा राख्दा प्रधानमन्त्री कार्यालयको स्टोरमा कार्यरत शाखा अधिकृत ज्ञानेन्द्र शर्माले आफूलाई कुनै जानकारी नरहेको बताए ।
जे प्रश्न सोध्दा पनि उनको एउटै जवाफ थियो, 'यसबारे मलाई केही जानकारी भएन । मलाई केही थाहा भएन ।'
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को निजी सचिव समेत रहेका सहसचिव अर्जुन भण्डारीले ज्ञानेन्द्र शर्मा एउटा 'लिस्ट' बोकेर निजी सचिवालयमा आएको तर, त्यस्तो काम आफूबाट हुँदैन भनेर फर्काइदिएको बताए ।
'ज्ञानेन्द्रजी सिफारिश गरिदिनुपर्यो भनेर एउटा लिस्ट बोकेर आउनुभएको हो,' प्रधानमन्त्री कार्यालयकै कर्मचारी जोडिएको स्वीकार गर्दै भण्डारीले भने, 'त्यो निजी सचिवालयले गर्ने काम होइन, हामीबाट यस्तो काम हुँदैन, सम्बन्धित शाखामा जानुस् भनेर फर्काइदिएको थिएँ । त्यसपछि के गरे मलाई जानकारी भएन ।'
यता, रुप्से होलिडेजका सञ्चालक रमेश पराजुलीले भने आफूले आफ्ना रेगुलर ग्राहककै लागि प्रयास गरे पनि प्रधानमन्त्री कार्यालयबाट कुनै पत्र नलेखाएको जिकिर गरे ।
'टुर प्याकेजमा जाने मान्छेलाई गरिदिन्छौं भनेको हो । हाम्रा रेगुलर कस्टुमर र क्रिकेटसँग जोडिएको मान्छेलाई नै पठाउन मिल्छ कि भनेर परराष्ट्रमा रिक्वेस्ट गरेको हो,' पराजुलीले भने, 'डेटका लागि के गर्न मिल्छ भनेर भर्बल्ली भनेको थिएँ । हुँदैन भनेपछि यत्तिकै छाडिदिएका हौं ।'
आफूहरूले भिसा फी र टिकटका लागि 'एड्भान्स' भनेर पैसा लिएको उनले बताए । '३५ हजार भिजा फी र केही रकम टिकटका लागि एड्भान्स भनेर लिएको हो,' पराजुलीले लोकान्तरसँग भने ।