नयाँ दिल्ली, २४ मङ्सिर - ‘विश्वकै सबैभन्दा बढी वजन’ भएकी इजिप्टकी महिला शल्य चिकित्साद्वारा तौल घटाउन आगामी हप्ता भारतको पश्चिमी सहर मुम्बई आउने भएकी छिन् ।
भारतीय शल्य चिकित्सक मुफाजल लाकदवालाले इजिप्टकी ५०० किलोग्राम ( करिब एक हजार एक सय पाउन्ड) तौल भएकी इमान अहमद अब्देल अतिको शल्यक्रियाको खर्च चिकित्सक आफैले बेहोर्ने गरी उपचार गर्ने प्रस्ताव गरेपछि उनी भारत आउन लागेकी हुन् ।

छत्तीस वर्षीया अब्देल अति विगत २५ वर्षदेखि आफ्नो घरबाहिर ननिस्केको उनकी बहिनीले बताएपछि लाकदवालाले उनको उपचारका लागि इच्छा प्रकट गरेको बताइएको छ ।
उनीमा सानो छँदा हात्तीपाइले भएको र यसैका कारण तीघ्रा तथा शरीरको अन्य भाग सुनिएर ठूलो भएको थियो । त्यसको केही समयपछि उनलाई मस्तिष्कघात भएको थियो । मस्तिष्कघातले थलिएकी उनी वर्षौदेखि आफ्नो कोठाबाट बाहिर निस्कन नसकेकी हुन् ।
उपचारका लागि इच्छुक चिकित्सक लाकदवालाले एएफपी संवाददातासँग भने , “मैले शतप्रतिशत निको पार्छु भनेमा म झुटो बोलेको ठहर्नेछ, तर सम्भवभएसम्म मैले उहाँको उपचारमा सघाउने छु ।”
अब्देल अतिले भारतमा करिब दुई महिना लामो उपचारपछि घर फर्किनसक्ने लाकदवालाले बताए ।