०७ साउन २०८३, बिहीबार
सहकारी ठगी प्रकरण

देउवासँग ४० मिनेट कुरा गरेर फर्किए प्रचण्ड

जेठ १३, २०८१
काठमाडौं
देउवासँग ४० मिनेट कुरा गरेर फर्किए प्रचण्ड

संसद्मा देखिएको गतिरोध अन्त्यका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गरी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड फर्किएका छन् । बजेट ल्याउने दिन नजिकिँदा पनि संसद् खुल्ने स्थिति नभएपछि प्रधानमन्त्री प्रचण्ड प्रमुख प्रतिपक्षी दलका नेतालाई भेट्न बूढानीलकण्ठस्थित उनको निवासमा पुगेका थिए । 

दुई नेताबीच ४० मिनेट भेटघाट भएको छ । सहकारी प्रकरणको छानबिनको लागि संसदीय समिति गठनको गृहकार्य, सदन खुलाउने प्रयास गर्न शीर्ष नेताको बैठक अघि प्रधानमन्त्रीले देउवासँग भेट गरेका हुन् । 

कांग्रेसले सहकारी प्रकरणको छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै आएको छ । यो प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने दोषी रहेको भन्दै कांग्रेस उनीमाथि छानबिन हुनुपर्ने पक्षमा छ । तर सत्तापक्षले रविको नाम लिएर छानबिन समिति गठन गर्न नसकिने अडान लिँदै आएको छ । यी दुई अडानका बीचबाट सहमति खोज्ने प्रयत्न भए पछि अझै निकास निस्कन सकेको छैन । 

बरु कांग्रेसले आज काठमाडौंमा सहकारी प्रकरणको छानबिन, गृहमन्त्रीको गैरजिम्मेवारी अभिव्यक्ति, सभामुखले संसदीय परम्परालाई लत्याएकोजस्ता विषयमा ध्यानाकर्षण गराउन विरोध प्रदर्शन गर्न लागेको छ । 

यता प्रधानमन्त्रीलाई भने प्रमुख प्रतिपक्षी दललाई विश्वासमा लिएर मंगलबार बजेट ल्याउनैपर्ने दबाब छ ।
 

कमेन्ट गर्नुहोस्