प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगीमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति नबन्दासम्म संसद् चल्न नदिने अडान दोहोर्याएको छ ।
आइतबार बसेको राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समिति बैठकमा कांग्रेसले संसदीय छानबिन समिति नबन्दासम्म सदन चल्न नसक्ने अडान राखेको हो ।
कांग्रेसले संसदीय छानबिन समिति माग गर्दै प्रतिनिधि सभामा अवरोध गरिरहेको छ भने राष्ट्रिय सभा बैठक पनि चल्न दिएको छैन । कार्यव्यवस्था समितिमा कांग्रेस सांसदहरूले समिति नबन्दासम्म बैठक चल्न नसक्ने अडान लिएको संसद् सचिवालय स्रोतले जानकारी दियो ।
आइतबार बस्ने प्रतिनिधि सभा र राष्ट्रिय सभा बैठकमा सरकारका वार्षिक नीति तथा कार्यक्रममाथि छलफल गरेर पारित गर्ने कार्यसूची छ ।
सदनको अवरोध हटाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबार कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गरेपछि पनि गतिरोध अन्त्य हुन सकेको छैन ।
प्रचण्डसँगको भेटमा देउवाले संसदीय छानबिन समिति बन्नुपर्छ भनेर पार्टीले पटक–पटक औपचारिक निर्णय गरेको अवस्थामा त्यसबाट पछि हट्न नसकिने बताएका थिए ।
संसद् चल्न नसक्दा राष्ट्रपति रामचन्द्र पौडेलले जेठ १ गते प्रस्तुत गरेको नीति तथा कार्यक्रम पारित हुन सकेको छैन । जेठ १५ गते बजेट ल्याउनुपर्ने संवैधानिक बाध्यता रहे पनि आइतबारको संसद् बैठक समेत चल्ने/नचल्ने अन्योल छ ।