
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद स्वर्णिम वाग्लेले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको विरोधलाई लज्जास्पद र कर्मकाण्डी भनेपछि सभामुख देवराज घिमिरेले पटकपटक विषय केन्द्रित हुन उनको ध्यानाकर्षण गराएका छन् ।
कांग्रेसको नाराबाजीको बीच सरकारको नीति तथा कार्यक्रममा छलफलका लागि आए पनि वाग्ले कांग्रेसविरुद्ध पटकपटक खनिएका हुन् ।
‘६५ वर्ष अगाडि लोकतान्त्रिक आन्दोलनका धरोहर, सबैका प्रेरणा र मेरा आदर्श बीपी कोइरालाले ६५ वर्ष अगाडि स्थापित गर्नुभएको मानकलाई यो अवस्थामा पुर्याउने लज्जास्पद, औचित्यविहीन विरोधप्रति मेरो घोर खेद छ,’ वाग्लेले भने, ‘संसद्को ओज, संसद्को गरिमा र उपादेयतालाई असान्दर्भिक बनाउने कि समाधान दिने ?’
वाग्ले प्रमुख प्रतिपक्षमाथि खनिएपछि सभामुखले विषयमा केन्द्रित भएर बोल्न रुलिङ गरे ।
तर त्यसपछि पनि नीति कार्यक्रमभन्दा कर्मकाण्डी विरोधमा कांग्रेस लागेको भन्दै वाग्ले पुनः आलोचनामा उत्रिए ।
‘समाधान उन्मुख हुने कि व्यक्ति केन्द्रित भइरहने ? औचित्यहीन कर्मकाण्डी विरोधको कुनै औचित्य छैन’ वाग्लेले फेरि भने । तर फेरि पनि वाग्ले विषय बाहिर गएपछि सभामुखले विषय केन्द्रित भएर कुरा राख्न सभामुखले पुनः निर्देशन दिए ।
लोकतान्त्रिक थिति धर्मराएको बेला सरकारले प्रभावकारी नीति कार्यक्रम ल्याएको दाबी उनले गरे ।