
काठमाडौं जिल्ला अदालतले काठमाडौंको बूढानीलकण्ठ नगरपालिकाका मेयर मीठाराम अधिकारीलाई १ महिना कैद सजाय गरेको छ ।
अदालतको अवहेलना गरेको भन्दै मेयर अधिकारीसहित उक्त नगरपालिकाका वडा नम्बर १० का वडाध्यक्ष नवराज भट्टराई, वडा नम्बर ८ का वडाध्यक्ष सुमन तामाङ र वडा नम्बर १० का वडासदस्य चन्द्रमान श्रेष्ठलाई १/१ महिना कैद सजाय गरेको हो ।
अदालतले चलन चलाइदिनू भनेको जग्गासमेत नगरपालिकाले आफ्नो कब्जामा राखिराखेको भन्दै न्यायाधीश डा राजेन्द्रकुमार आचार्यको इजलासले उक्त सजाय गरेको हो ।
अदालतको अवहेलनामा मेयर अधिकारीसँगै उनीहरूलाई मुलुकी देवानी संहिताको दफा २६८ को १६ अनुसार सजाय गरिएको अदालतको आदेशमा उल्लेख छ ।
‘माथि उल्लिखित कैदका हकमा प्रतिवादीहरुले अब ६० दिनभित्र संरचना हटाई निवेदक एवं वादीलाई चलन दिई कब्जा छाडिदिएको प्रतिवेदन पेश गरेमा उक्त कैद असुल गर्न पर्दैन’, आदेशमा उल्लेख छ ।
तर ६० दिनभित्र पनि संरचना हटाई नलगेमा अदालतबाट संरचना हटाइदिन र लागेको खर्च बुढानीलकण्ठ नगरपालिकाबाट असुल गर्न पनि आदेश दिइएको छ ।

