
नेपालमा बर्सेनि अर्बौं रुपयाँको काठ तथा काठजन्य सामग्री आयात हुने गरेको छ । आर्थिक वर्ष २०७७/७८ मा दुई अर्ब ३३ करोड रुपैयाको काठ र काठजन्य बस्तु आयात भएको भन्सार विभागको तथ्याङ्क छ । यस्तै, २०७८/७९ मा सात अर्ब ९९ करोड र २०७९/८० मा छ अर्ब ४० करोडको काठ र काठजन्य सामग्री आयात भएको तथ्यांक छ ।
महालेखापरीक्षकको प्रतिवेदनले काठको सदुपयोग नहुँदा यसबाट प्राप्त हुने आम्दानी गुमिरहेको जनाएको छ ।
अर्बौं रुपैयाँको काठजन्य सामग्री आयात भएको देखिँदा ढलापडा, सुखड खड़ा रूखहरूको व्यवस्थापन गरी काठलगायत वन पैदावारको उचित उपयोगद्वारा राष्ट्रिय अर्थतन्त्रमा योगदान गर्ने व्यवस्था मिलाउनुपर्ने औँल्याएको छ ।
यता वन नीति, २०७५ ले भने वन पैदावारमा आत्मनिर्भर भई मूल्य अभिवृद्धिसहित निर्यात प्रवर्द्धन गर्ने उद्देश्य लिएको छ ।