
सर्वोच्च अदालतले गण्डकी प्रदेशको मुख्यमन्त्रीमा खगराज अधिकारीको नियुक्ति र उनले लिएको विश्वासको मत संविधानसम्मत नभएको ठहर गरेको छ।
अधिकारी नेतृत्वको सरकारविरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिटमा सोमबार न्यायाधीशद्वय कुमार रेग्मी र सुनिलकुमार पोखरेलको इजलासले रिट जारी गरेको हो ।
अदालतको संक्षिप्त आदेश आउन बाँकी रहेकाले कुन कुन प्रक्रिया बदर भएको हो खुल्न बाँकी छ । तर माग अनुसारकै रिट जारी भएको छ ।
नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता सुरेन्द्र पाण्डेले दायर गरेको रिटमा अघिल्लो सातादेखि बहस भइरहेको थियो ।
मुख्यमन्त्री अधिकारीले लिएको विश्वासको मत असंवैधानिक भएको भन्दै बदरको माग रिटमा गरिएको थियो ।
६० सदस्य प्रदेश सभामा ३० जनाले मत दिँदा सभामुखले बहुमत पुगेको घोषणा गरेपछि उक्त निर्णय बदर हुनुपर्ने माग गर्दै रिट दायर भएको थियो ।